अब युट्युबबाट हुने आम्दानीमा नेपाल सरकारले १ प्रतिशत कर असुल्ने

नौलो समाचार संवाददाता
२०७८ भाद्र २५, शुक्रबार मा प्रकाशित १४२० पटक पढिएको

अब युट्युबबाट हुने आम्दानीमा नेपाल सरकारले १ प्रतिशत कर असुल्ने

भदौ २५, काठमाडौं। अब युट्युब मार्फत गरेको आम्दानीमा नेपाल सरकारले एक प्रतिशत कर असुल गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले शुक्रबार संघीय संसद्‌मा प्रस्तुत गरेको अर्थसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विधेयक मार्फत यस्तो व्यवस्था गरिएको हो ।

व्यवसाय सञ्चालनमा संलग्न नरहेको कुनै बासिन्दा प्राकृतिक व्यक्तिले नेपाल बाहिर सफ्टवेयर वा यस्तै प्रकृतिको अन्य विद्युतीय सेवा उपलब्ध गराएर वा सामाजिक सञ्जाल मार्फत श्रव्यदृश्य सामग्री अपलोड गरेबापत विदेशी मुद्रा भुक्तानी प्राप्त गर्दा यस्तो कर लाग्नेछ ।

विधेयक अनुसार सम्बन्धित बैंक, वित्तीय संस्था वा मनी ट्रान्सफर गर्ने संस्थाले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकमको एक प्रतिशतको दरले अग्रिम कर असुल गर्ने व्यवस्था मिलाइएको छ ।

युट्युबले अमेरिका सँग दोहोरो कर सम्झौता नभएका मुलुकका क्रियटरले पाउने रकमको २४ प्रतिशत कर यस अघि नै कटौती गर्न थालिसकेको छ । एकपछि अर्को गर्दै कर थपिँदै जाँदा क्रियटरहरू निरुत्साहित हुनसक्ने चिन्ता समेत गर्न थालिएको छ।

प्रतिक्रिया दिनुहोस