कोरोना भाइरसबारे अडियोमार्फत भ्रम फैलाउने विवेक थापा पक्राउ, अफवाह फैलाउनेलाई एक वर्ष जेल, १० हजार रुपैयाँ जरिवाना

नौलो समाचार संवाददाता
२०७६ चैत्र ८, शनिबार मा प्रकाशित ८०६ पटक पढिएको
कोरोना भाइरसबारे अडियोमार्फत भ्रम फैलाउने विवेक थापा पक्राउ, अफवाह फैलाउनेलाई एक वर्ष जेल, १० हजार रुपैयाँ जरिवाना

चैत ८, काठमाडौ । कोरोना भाइरसबारे अफवाह फैलाउने कार्यमा संग्लन एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २१ वर्षीय विवेक थापा मगर छन् । उनलाई साइबर व्युरोको टोलीले पक्राउ गरेको प्रहरी प्रवक्ता शैलेश थापाले जानकारी दिए ।

विवेकले नर्भिक इन्टरनेशनल हस्पिटलमा अस्पतालमा ८ जना कोरोना भाइरसबाट संक्रमित फेला परेको सूचना एकजना चिकित्सकले बताएको क्लिप ‘भाइरल’ भएको थियो । उनले नर्भिकमा मात्र नभई त्रिवि शिक्षण अस्पतालमा पनि कोरोनाबाट संक्रमित केहीको मृत्यु भएको भ्रम फैलाएका थिए ।

आजै नर्भिक हस्पिटलले समेत भम्र फैलाउने व्याक्तिमाथि कारवाहीको माग गरेको थियो ।

प्रहरीको चेतावनी- अफवाह फैलाउनेलाई एक वर्ष जेल, १० हजार रुपैयाँ जरिवाना

नेपाल प्रहरीले कोरोना सन्त्रासबारे अनावश्यक अफवाह फैलाउन कार्य नगर्न आग्रह गरेको छ । कसैले अफवाह फैलाउने कार्य गरेमा प्रचलित कानुन अनुसार कारबाही गरिने चेतावनी पनि प्रहरीले दिएको छ ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–२ अनुसार गलत अफवाह फैलाउनेलाई एक वर्ष कैद र १० हजार जरिवानाको व्यवस्था रहेकोले अफवाह फैलाउनेलाई सोही बमोजिम कारबाही हुने चेतावनी प्रहरीले दिएको हो ।

‘कसैले सार्वजनिक शान्ति भङ्ग गर्ने, हूलदङ्गा गर्ने वा नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा विभिन्न जात, जाति वा सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल पार्ने नियतले कसैलाई उक्साउने गरी नभए नगरेको अफबाह फैलाउन, प्रचार प्रसार गर्न वा नारा जुलुस गर्न हुँदैन । यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ’, प्रहरीले सामाजिक सञ्जालमार्फत चेतावनी दिएको छ ।

काठमाडौँको नर्भिक अस्पतालमा ६ जनालाई कोरोना भाइरस देखिएको र नेपालमा फैलिइसकेको दाबी गरिएको एक फेक अडियो सामाजिक सञ्जाल मार्फत भाइरल बनेपछि प्रहरीले यस्तो चेतावनी दिएको हो ।

प्रतिक्रिया दिनुहोस