डलरको भाउ बढ्दा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

नौलो समाचार संवाददाता
२०७६ चैत्र ११, मंगलबार मा प्रकाशित ६५१ पटक पढिएको
डलरको भाउ बढ्दा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

चैत ११, काठमाडौं । डलरसँग नेपाली रुपैयाँ हालसम्मकै कमजोर बनेको छ । एक अमेरिकी डलरको भाउ १२२ रुपैयाँ ३४ पैसा पुगेको छ । नेपाल राष्ट्र बैंकले आज डलरको खरिद दर १ सय २१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १ सय २२ रूपैया ३४ पैसा कायम गरेको छ ।

चीनमा कोरोना भाइरस देखिएदेखि नै डलरको भाउ बढिरहेको छ, जुन जारी छ । कोरोना देखिएपछि मात्रै करिब ८ रूपैयाले डलर महङगिएको छ । कोरोनाले विश्व अर्थतन्त्र प्रभावित भएपछि लगानीकर्ताले डलरको माग बढाउदा मूल्य बढेको जानकार बताउँछन् । कोरोनाकै कारण सुनमा लगानीकर्ता आकर्षित हुदा सुनको भाउ पनि बढेको छ ।

विशेषगरि कोरोनाको असरले विश्व सेयर बजार निकै प्रभावित भएपछि लगानीकर्ताले डलर र सुनमा लगानी बढाउदा मूल्य बढेको अर्थविद केशव आचार्य बताउँछन् । उनले पिश्वका लगानीकर्ताले डलर र सुनलाई सुरक्षित लगानी क्षेत्र देखेकाले मूल्य बढेको बताए ।

डलरको भाउ बढ्दा विदेशबाट नेपाली श्रमिकले पठाउने रेमिट्यान्सको आयमा बृद्धि आउथ्यो । तर कोरोनाका कारण नेपाली श्रमिक रहेका मुलुकहरू समेत प्रभावित हुदा रेमिट्यान्समा समेत असर पर्ने देखिन्छ ।

डलरको मूल्य बढ्दा हाम्रोजस्तो आयातमुखी अर्थतन्त्रमा मूल्य बढाउन पनि थप सहयोग गर्छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको सात महिनासम्मको आर्थिक स्थितिमा पनि अघिल्लो महिनाको तुलनामा मूल्य बढेको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस