हप्तामा तीनपटक मात्रै ग्रीनटी खाए पनि अनेकौँ फाइदा

नौलो समाचार संवाददाता
२०७७ बैशाख २१, आईतबार मा प्रकाशित ६२५ पटक पढिएको

हप्तामा तीनपटक मात्रै ग्रीनटी खाए पनि अनेकौँ फाइदा

बैशाख २१, एजेन्सी । ठूलो स्तरमा गरिएको अनुसन्धानले हप्तामा तीनपटक मात्र ग्रीन टी सेवन गर्दा पनि ह्दयघात, स्ट्रोकको जोखिम न्युन हुनेदेखि लामो समय बाँच्न सकिने देखाएको छ । त्यसमा हुने ‘एन्टिअक्सिडेन्ट’ ले मुटुलाई सुरक्षित राख्दै मान्छेलाई स्वस्थ र लामो जीवन दिलाउन सक्ने बताइएको छ ।

यस अन्र्तगत चीनका १ लाख मानिसमा अध्ययन गरिएको थियो जसमा नियमित ग्रीन टि सेवन गर्नेहरु नगर्नेको तुलनामा औसतमा १.२६ वर्ष बढी बाँच्ने गरेको पत्ता लागेको हो । त्यस्तै उनीहरुमा मुटुको समस्या पनि तुलनात्मक रुपमा धेरै ढिलो देखा पर्ने गरेको पाइएको छ । अर्कोतर्फ कालो चिया पिउँदाको भने कुनै विशेष फाइदा नदेखिएको बताइएको छ । यसमा ग्रीन टिले मात्र स्वास्थ्य सम्बन्धी यस्ता लाभ गराउन सक्ने वैज्ञानिकहरुले बताएका हुन् ।

त्यस्तै बेइजिङमा चाइनिज एकेडेमी अफ मेडिकल साइन्सेसले भने क्यान्सर, ह्दयघात वा स्ट्रोक नभएका १ लाख बढी मानिसहरुको स्वास्थ्यबारे सात वर्षसम्म अध्ययन गरेको हो । यसबीच उनीहरुले कति मात्रामा र कुन चिया पिउँछन् भन्ने डाटा पनि संकलन गरिएको थियो । जसमा हप्तामा तीनपटक भन्दा बढी चिया पिउनेलाई नियमित ‘ड्रिङ्कर’ मा राखिएको हो भने त्यो भन्दा कम पिउनेलाई चाहिँ ‘नन–ड्रिङ्कर’ मानिएको हो । यसमा उनीहरुले ग्रीन टिलाई मात्र विशेष प्राथमिकता दिएका थिएनन् तर अनुसन्धानका क्रममा आठ प्रतिशत मानिसले कालो चिया पिउने गरेका थिए जसको कुनै स्वस्थकर पक्ष फेला नपरेको बताइएको छ । अर्कोतर्फ ग्रीन टिले भने मुटु सम्बन्धी रोग, स्ट्रोकको जोखिमलाई २५ प्रतिशतले घटाइरहेको थियो ।

समस्त रुपमा हेर्दा अध्ययनले चिया पिउनेहरुमा आठ वर्षसम्म मुटु सम्बन्धी कुनैपनि समस्याको जोखिम ३९ प्रतिशकतले कम रहेको भएको देखाएको छ । यसबारेमा अध्ययनका लेखक डाक्टर छिनयान वाङ भन्छन्, “चिया पिउने बानी भएकाहरुलाई, असामयिक मृत्यु गराउने मुटु सम्बन्धी रोगको कम जोखिमको विषयसँग जोडिएको छ । यसमा पनि लामो समयसम्म नियमित ग्रीन टि सेवन गर्नेहरुमा त अधिक धेरै लाभकारी पक्ष रहेको पाइएको छ ।”

डाक्टर वाङ र उनका सहकर्मीहरुले बताएअनुसार चिया सेवनले मानिसको स्वास्थ्यमा सुधार ल्याउने एउटा कारण भनेको ‘पोलीफेनोल’ तत्व हो जसमा अधिक एन्टिअक्सिडेन्ट पाइन्छ । पोलिफेनोल प्राकृतिक रुपमा सागसब्जी र फलफुलमा पाइन्छ र यसले सेलको क्षति रोक्न र मर्मत गराउन सक्छ भने रगतमा सुगर लेभललाई नियन्त्रण गरि तौल वृद्धिलाई पनि सुस्त बनाइदिन्छ । चिनियाँ अनुसन्धानकर्ताहरुका अनुसार यसअघि गरिएका धेरै रिसर्चहरुले पोलिफेनोलले मुटु सम्बन्धी रोग र उच्च रक्तचाप अनि उच्च कोलेस्ट्रोलबाट बचाउन सक्ने पुष्टि गरिसकेका छन् । त्यसैले पनि ग्रीन टि विशेष रुपमा फाइदाकारी मानिएको हो । यता कालो चियामा भने एन्टिअक्सिडेन्टको प्रक्रिया एकदम कम प्रभावकारी हुन्छ ।


प्रतिक्रिया दिनुहोस