नेपालबाट भारततर्फ लैजादै गरिएको मेची पुलमा रोकिए २५ ट्रक

नौलो समाचार संवाददाता
२०७७ अषाढ ४, बिहिबार मा प्रकाशित ५०१ पटक पढिएको
नेपालबाट भारततर्फ लैजादै गरिएको  मेची पुलमा रोकिए २५ ट्रक

असार ४, काँकडभिट्टा । भारतको पश्चिम बंगाल सरकारले निर्यात अवरोध गर्दा नेपालबाट भारत र बंगलादेश निर्यात हुन लागेका २५ ट्रक नेपाली उत्पादन मेची पुलमा रोकिएको छ ।

लकडाउनको समयमा समेत भारतबाट निरन्तर सामान आयात भएपनि नेपाली वस्तु निर्यात हुन पाएको छैन । नेपाल–बंगलादेशबीच व्यापार गर्दै आएका व्यवसायी पन्नालाल जैनले भारत तथा नेपालको भन्सार र व्यवसायीबीचको मौखिक समझदारी अनुसार नेपाली वस्तु भारत निकासी गरिएको थियो ।

तर, भारतीय प्रहरीले पुलबाट प्रवेश गर्नै दिएन । ‘बंगाल प्रहरीले माथिको आदेश नआएको भन्दै सामान रोक्यो,’ व्यवसायी जैनले भने,‘गाडी अगाडी जान नदिएपछि फर्काउन पनि मिलेन, सबै गाडी मेची पुलमा अलपत्र छन् ।’

व्यवसायीका अनुसार सबै चिया, अलैंची र अम्रिसोका गाडी हुन् । चिया र अलैंची भारत तथा अम्रिसो बंगलादेश निर्यात हुँदै आएको छ ।

मेची भन्सार कार्यालयले कुनै पनि नेपाली कृषिजन्य उत्पादन निर्यात गर्न बंगालले नदिएको जनायो । भन्सार प्रमुख ध्रुवराज विश्वकर्माले भने,‘नेपाली सामान नल्याउनु भन्ने आदेश भारतीय प्रहरीलाई रहेछ, त्यहि भएर सामान रोकिएको हो ।’

प्रतिक्रिया दिनुहोस