पादेको अभियोगमा ६८ हजार रुपैयाँ जरिवाना

नौलो समाचार संवाददाता
२०७७ अषाढ ९, मंगलबार मा प्रकाशित ११५८ पटक पढिएको
पादेको अभियोगमा ६८ हजार रुपैयाँ जरिवाना

असार ९, एजेेेेन्सी । जिन्दगीमा कहिलेकाहीँ सानोतिनो गल्ती पनि निकै भारी पर्न सक्दछ । युरोपेली मुलुक अष्ट्रियामा हालै एकजना युवकलाई पुलिसका अगाडि पाद्नु निकै महंगो सावित भयो ।

पुलिसले चेकजाँच गर्न खोज्दा नियतबस ठूलो आवाज आउनेगरी पादेको अभियोगमा अष्ट्रियाको पुलिसले एकजना युवकमाथि ५ सय युरो जरिवाना गरेको छ । गत जुन ५ तारेख राजधानी भियनामा उक्त घटना भएको बताइएको छ ।

ती युवक भियनास्थित एक पार्कमा बेन्चमा बसिरहेका थिए । त्यहीँ बेला गस्तीमा रहेको प्रहरी त्यहाँ आयो र उनको परिचयपत्र माग्यो । बेन्चमा बसिरहेको ती युवकले एक्कासी आफ्नो पछाडिको बसेको भाग माथि उठाए र जोडसँग पादे । त्यस्तो असभ्य कार्य गरेसँगै पुलिसले ती युवकमाथि ५ सय युरो (करिब ६८ हजार रुपैयाँ) जरिवाना गर्‍यो ।

आफूमाथि अन्यायपूर्ण रुपमा जरिवाना गरिएको भन्दै ती युवकले स्थानीय मिडियामा समेत अन्तरवार्ता दिए । तर पुलिसले आफ्नो कदमको बचाउ गर्दै पुलिसको अगाडि नियतबस जोडसँग पाद्ने कार्य गरेको हुँदा उनलाई जरिवाना गरिएको बताएको छ ।

ट्विटरमार्फत् अष्ट्रियन पुलिसले भनेको छ, ‘अवस्य पनि यदि कसैलाई स्वभाविकरुपमा अकस्मात् पाद आउँछ भने त्यसमा सजाउ गरिँदैन । तर ती युवकले पुलिसलाई उत्तेजित बनाउने तथा असहयोग गर्ने कार्य गरेका थिए ।’

पुलिसका अनुसार उनको परिचय सोध्नासाध उनले आफ्नो जीउको पछिल्लो भाग बेन्चबाट माथि उठाए, पुलिस अधिकारीको अनुहारमा हेरे र पूर्णतः जानीजानी ठूलो आवाजमा पादे ।

साथै ती युवकलाई उनीमाथिको जरिवाना चित्त नबुझेमा अदालतमा गएर चुनौती दिनसक्ने पनि पुलिसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस