जब चितुवालाई दाम्लोमा बाँधेर हिँडाइयो…

नौलो समाचार संवाददाता
२०७७ अषाढ ९, मंगलबार मा प्रकाशित १४३९ पटक पढिएको
जब चितुवालाई दाम्लोमा बाँधेर हिँडाइयो…

असार ९, पर्वत । मंगलबार सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भयो । भिडियोमा एउटा चितुवालाई दाम्लोमा बाँधेर सडकमा हिँडाइएको छ । र, चितुवा सँगसँगै मान्छेको भीड पनि हिँडिरहेको छ । फोटो खिच्नेको भीड छ ।

खसीबोका वा घरपालुवा कुकुरलाई डुलाएजस्तो दाम्लोमा बाँधिएको चितुवा लुरुलुरु हिँडिरहेको छ ।

घरपालुवा पशु चौपाया खाइदिने भएकाले चितुवालाई आतंकमात्रै होइन त्रास बढाउने जन्तुका रूपमा लिने गरिएको छ । चितुवाको आक्रमणबाट मानिसहरुले ज्यान गुमाएका समाचारहरु पनि आएका छन् । यस्तो जनावरलाई खसीबोका जसरी दाम्लोमा बाँधेर मानिसहरुले लुरुलुरु हिँडाएको भिडियो भाइरल हुनु स्वभाविक देखिन्छ ।

जनावरमध्ये चितुवा छिटो दौडने जीवभित्र पर्दछ । नलठ्याइ यसलाई समात्न सजिलो छैन । तर, पर्वतको दृश्य देख्ने सबैलाई अचम्म लाग्ने रह्यो । चितुवा विज्ञले भने यसलाई ‘जोखिम’को संज्ञा दिएका छन् ।

सोमबार अपरान्ह साढे ४ बजेतिर पर्वतको जलजला गाउँपालिका–७ मिलन चोक नजिकैको कालीगण्डकीको बगरमा स्थानीय अमृत आचार्यले घाँस काट्न जाने क्रममा चितुवा देखेका थिए । उनले कालीगण्डकी बगर नजिकैको रुखमुनि बसेको उक्त चितुवा देखेपछि स्थानीय र प्रहरीलाई खबर गरेको अस्थायी प्रहरी चौकी मिलन चोकका इन्चार्ज प्रहरी सहायक निरीक्षक ध्रुव बोहोराले बताए ।

चितुवा छ भन्नेबित्तिकै स्थानीय र प्रहरी उक्त स्थानमा पुगे । ‘हामी ५ बजेतिर चितुवा बसेको ठाउँमा पुगेका थियौं । त्यतिञ्जेलसम्म मानिसहरु जम्मा भइसकेका थिए,’ असई बोहोराले भने, ‘चितुवा त्यति आक्रामक नदेखिएपछि हामीले पासो थाप्ने निधो गर्‍यौं ।’ चितुवाको हेराई एकोहोरो र पछाडि भागमा चोट लागेजस्तो देखिएको थियो ।

स्थानीयले उक्त चितुवालाई सुरुमा लखेट्न खोजेका थिए । तर, कुनै प्रतिक्रिया नजनाएपछि सबै मिलेर नाम्लोको पासो थापे । कमजोर र बिरामीजस्तो देखिने चितुवाले प्रतिकार गरेन । त्यसपछि दाम्लोले बाँधियो । प्रहरी र स्थानीयले भेटिएको बगरबाट हिँडाएर मूल बाटोसम्म ल्याए । भाइरल भएका फोटो र भिडियो त्यही बेलाको हो ।

चितुवालाई दाम्लोमा बाँधेर डोर्‍याएका अस्थायी ट्राफिक पोष्ट मिलन चोकका ट्राफिक प्रहरी जवान अनिल कार्कीले कुनै आक्रमण नगर्ने निश्चित भएपछि मात्रै डोर्‍याएका थिए । मिलन चोक ल्याएपछि जिल्ला प्रहरी र वन कार्यालयलाई स्थानीय प्रहरीले खबर गरेको थियो । सहायक वन अधिकृतलाई पठाएर चितुवालाई केजमा हालेर कार्यालयमा ल्याइएको डिभिजन वन प्रमुख अशोककुमार श्रेष्ठले बताए ।

उद्धार गरिएको उक्त चितुवा लट्ठिएको अवस्थामा रहेको र त्यति सक्रिय पनि नरहेको उनको भनाइ छ । चितुवालाई वन कार्यालयभित्रै उपचार गराएर औषधि दिइएको छ । पर्वतमै उपचार सम्भव नभए राष्ट्रिय प्रकृति सरक्षण कोषसँग समन्वय गरेर चितवन पठाउन पनि सकिने श्रेष्ठले जानकारी दिए । चितुवा बुढो भएको र खाना नपाएर बिरामी भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस