नमोबुद्धका ‘करुणा गाथा र सम्पदा’ पुस्तकमा

नौलो समाचार संवाददाता
२०८३ मंसिर ७, आईतबार मा प्रकाशित १४ पटक पढिएको

नमोबुद्धका ‘करुणा गाथा र सम्पदा’ पुस्तकमा

नमोबुद्ध / काभ्रेपलाञ्चोकको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको नमोबुद्ध क्षेत्रको ‘करुणा गाथा र सम्पदा’ लाई समेटेर तयार पारिएको पुस्तक ‘नमोबुद्ध करुणा गाथा र सम्पदा’ सार्वजनिक गरिएको छ । नमोबुद्ध क्षेत्र विकास समितिले प्रकाशन गरेको पुस्तक भीष्म बाँस्कोटाले लेखेका हुन् ।

पुस्तकमा नमोबुद्धसँग जोडिएको ऐतिहासिक तथा धार्मिक महत्व, भगवान् गौतम बुद्धको पूर्वजन्मसँग सम्बन्धित करुणा गाथा र यस क्षेत्रको सम्पदाबारे चर्चा गरिएको छ । नमोबुद्ध र करुणासँग सम्बन्धित पौराणिक कथालाई खोजमूलक ढंगबाट प्रस्तुत गरिएको छ । सिद्धार्थ गौतम बुद्ध जन्मनुभन्दा तीन असंख्य कल्पअगाडि ऋद्धिसिद्धि प्राप्त गर्न सफल भिक्षु सुमेध र दीपंकर बुद्धसँग सम्बन्धित प्रसंगदेखि नमोबुद्धको करुणा गाथासम्मका विषय पुस्तकमा समेटिएका छन् । विशेषगरी भोकले छटपटाइरहेकी बघिनी र उनका डमरुलाई बचाउन राजकुमारले आफ्नो शरीर दान गरेको प्रसङ्गलाई करुणा, त्याग र परोपकारको उदाहरणका रूपमा प्रस्तुत गरिएको छ ।

पुस्तकले नमोबुद्ध क्षेत्रको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वको अभिलेखीकरण गर्नुका साथै यसको पहिचान र सम्पदालाई नयाँ पुस्तामाझ परिचित गराउन सहयोग पुग्ने नमोबुद्ध क्षेत्र विकास समितिका अध्यक्ष शंखबुद्ध लामाले अपेक्षा गरे ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आइतबार नमोबुद्धमा आयोजित कार्यक्रममा पुस्तक लोकार्पण गर्दै नमोबुद्ध चैत्यलाई विश्वसम्पदा सूचीमा सुचिकृत गर्नलाई पहलकदमी गर्ने र त्यसको लागि पुस्तकका तथ्य सहयोगी बन्ने तर्क गरे । नमोबुद्ध क्षेत्र विकासका लागि गुरुयोजना बनाउन प्रदेश सरकारले सहयोग गर्ने उनको भनाई छ ।

उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले नमोबुद्धको विकास र विस्तारको लागि नमोबुद्ध क्षेत्र विकास समिति गठन गरेको बताउँदै आगामी सन २०३० सम्ममा नमोबुद्धलाई विश्वसम्पदा सूचीमा सुचिकृत गर्ने लक्ष्य रहेको बताए ।

समारोहमा संविधान सभा सदस्य हर्षजित लामा, बागमती प्रदेशका पूर्वमन्त्री चन्द्र लामा, नमोबुद्ध नगरपालिकाका मेयर कुनसाङ लामा, वडा नम्बर १ का अध्यक्ष प्रेम लामा, वडा नम्बर ११ का अध्यक्ष कृष्ण लामा, छ्योर्तेन टासी तामाङ गुम्बाका अध्यक्ष हरिबहादुर बल, समितिका अध्यक्ष शंखबुद्ध लामा, कार्यकारी निर्देशक कान्छामान लामा मोक्तान लगायतले नमोबुद्धलाई विश्वसम्पदा सुचिमा सुचिकृत गर्न प्रदेश सरकारले पहल गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पुस्तकका लेखक भीष्म बाँस्कोटा र पुस्तक प्रकाशनमा सहयोग गर्नेहरूलाई सम्मान गरिएको थियो ।






प्रतिक्रिया दिनुहोस


↑