लयमा फर्किँदै पोल्ट्री व्यवसाय

नौलो समाचार संवाददाता
२०७७ अषाढ ९, मंगलबार मा प्रकाशित १०४८ पटक पढिएको
लयमा फर्किँदै पोल्ट्री व्यवसाय

असार ९, चितवन । दुई वर्षयता उतारचढावमा रहेको पोल्ट्री व्यवसाय लकडाउन खुकुलो भएसँगै लयमा फर्किँदै छ । यसका कारण कृषकहरुले विस्तारै राहत महसुस गर्न थालेका छन् ।

नेपालको आत्मनिर्भर व्यवसायको रुपमा परिचित पोल्ट्री लकडाउनको शुरुआती चरणमा निकै खस्केको थियो । लकडाउन शुरुभएदेखि दुई साता अघिसम्म घाटामा रहेको व्यवसाय अहिले लागत धान्ने अवस्थामा आइपुगेको व्यवसायीहरु बताउँछन् ।

नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलका अनुसार चल्ला लागत मूल्यभन्दा केही मुनाफा राखेर बिक्री हुन थालेका छ ।

ब्रोइलर चल्ला ६०, लेयर्स  ९० र कोइलर ७० मा बिक्री हुन थालेको छ । ब्रोइलर चल्लाको लागत मूल्य ५७.४५, लेयर्सको ९० र कोइलरको ४५ पर्न आउँछ । हाल सातामा ब्रोइलर चल्ला ३० लाख, लेयर्स एक लाख ५० हजार र कोइलर दुई लाख ५० हजार उत्पादन हुने पोखरेलले जानकारी दिए ।

उत्पादित चल्ला सबै बिक्री हुन थालेको छ । ब्रोइलर चल्लाको उत्पादन सातामा पाँच लाख हाराहारी घटेको उहाँले जानकारी दिए ।

लकडाउनको समयमा कुखुरा पाल्ने घटेसँगै मासुको अभाव हुन थालेको छ । फार्मबाट प्रतिकिलो जिउँदो कुखुरा २७० देखि २८० सम्ममा बिक्री हुन थालेको छ । जिउँदो खुकुराको लागत मूल्य १८० हो । चितवनको बजारमा तयारी मासु प्रतिकिलो ४०० सम्ममा बिक्री हुने गरेको छ ।

दुई साता अघिबाट चल्ला बिक्री हुन थालेको हो । लकडाउन सुरु भएपछि व्यवसायीले बिक्री नभएसम्म चल्ला नष्ट गर्दै आएका थिए । यससँगै अण्डाको मूल्य पनि बढ्न थालेको छ । माग बढेसँगै मूल्य बढ्दै गएको नेपाल अण्डा उत्पादक सङ्घले जनाएको छ ।

सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीका अनुसार हाल ठूलो अण्डाको बिक्री मूल्य फार्ममा ३०५ र मध्यम अण्डाको २९१ मा रहेको छ । बजारमा अण्डाको अभाव भएका कारण बिक्री मूल्य बढ्दै गएको छ ।

पोल्ट्री व्यवसायी मदन पोखरेलले अण्डा पाउन मुस्किल भएपछि व्यापारीले ठूलो अण्डा ३२५ सम्ममा बिक्री गर्ने गरेको जानकारी दिए । हाल अण्डाको उत्पादन कम रहेको छ । लकडाउन अघिकोभन्दा दैनिक १० लाख गोटा कम अण्डा उत्पादन भएको अध्यक्ष केसीले बताए । अहिले दैनिक २५ देखि २६ लाख अण्डा उत्पादन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस