विगत भन्दा यो वर्ष रोपाइँ चाँडो, धान उत्पादन राम्रो हुने आँकलन

नौलो समाचार संवाददाता
२०७७ अषाढ १५, सोमबार मा प्रकाशित ७६५ पटक पढिएको

विगत भन्दा यो वर्ष रोपाइँ चाँडो, धान उत्पादन राम्रो हुने आँकलन

असार १५, काठमाडौँ । मनसुनी गतिविधि लगातार सक्रिय रहेको र गाउँमा जनशक्तिको उपलब्धता आवश्यक मात्रामा हुँदा यो वर्ष रोपाइँको विगतको भन्दा बढी भएको कृषि तथा पशु पक्षी मन्त्रालयले जनाएको छ ।

देशभर अहिलेसम्म लगभग २२ प्रतिशत रोपाइँ भएको कृषि मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिएका छन् ।

सबैभन्दा बढी प्रदेश ५ मा अहिलेसम्म ३५ प्रतिशत भन्दा धेरै रोपाइँ भएको जानकारी आएको उनले बताए । प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा २० प्रतिशत भन्दा धेरै क्षेत्रमा रोपाइँ भएको छ।

प्रवक्ता डा. केसीले भने, ‘यो वर्ष पानी लगातार परिरहेको छ । यस्तै लकडाउनका कारण गाउँ गएकाहरुका कारण जनशक्तिको पनि अभाव छैन । सोही कारण गत वर्षभन्दा चाँडै नै रोपाइँ भएको छ ।’ गएको वर्ष यो समयमा देशभर १६–१७ प्रतिशत मात्रै रोपाइँ भएको थियो।

मनसुन सक्रिय नै रही खडेरी नपरेमा यो वर्ष धान खेती राम्रो हुने संकेत मिलेका मन्त्रालयले जनाएको छ।

डा. केसीले भने, ‘असार १५ मै देशभर २२ प्रतिशतको हाराहारीमा रोपाइँ सकिएको छ । बिउ पनि राम्रो भएको किसानले बताएका छन् । यसले गर्दा यो वर्ष धान उत्पादन राम्रै हुने अपेक्षा गर्न सकिन्छ।’

तर यो वर्ष लकडाउनका कारण रासायनिक मलको भने अभावको गुनासो किसानबाट आएको उनले बताए।


प्रतिक्रिया दिनुहोस