भागरथी हत्या प्रकरण : आमा द्रौपदीलाई २ महिनामा २ बज्रपात, सम्हाल्ने मान्छेसम्म भएन

नौलो समाचार संवाददाता
२०७७ माघ २५, आईतबार मा प्रकाशित १०७२ पटक पढिएको
भागरथी हत्या प्रकरण : आमा द्रौपदीलाई २ महिनामा २ बज्रपात, सम्हाल्ने मान्छेसम्म भएन

माघ २५, काठमाडौं। बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर– ७ चुडेपानीकी द्रौपदी भट्ट राम्रोसँग सम्हालिन पनि सकेकी छैनन् ।

सम्हालिऊन् पनि कसरी रु दुई महिनाको बीचमा उनले कल्पना पनि गर्न नसकिने दुई ठूला शोक बेहोरेकी छन् ।

पतिको मृत्यु भएको दुई महिना मात्र भयो । भारतमा रोजगारी गर्ने पति केही समयदेखि बिरामी थिए ।

उपचारका क्रममा दुई महिनाअघि प्रादेशिक अस्पताल धनगढीमा उनको मृत्यु भयो ।

पतिको मृत्युको शोकबाट द्रौपदी राम्ररी उठ्न पनि सकेकी थिइनन्, यही बीचमा अर्को शोक पर्‍यो– छोरी भागरथी भट्टको हत्या ।

भागरथीको शव २२ गते बिहीवार लबलेक सामुदायिक वनको जंगलमा फेला परेको थियो ।

पतिको मृत्यु, छोरो रोजगारीका लागि भारतमा र छोरीको हत्या भएपछि परिवारमा उनलाई सम्हाल्ने पनि कोही भएन ।

बुवाको निधन भएपछि छोरा कमाइका लागि भारत गएका थिए ।

परिवारको आम्दानीको एक मात्र स्रोत बुवाको मृत्यु भएपछि उनी भारत जानुको विकल्प थिएन ।

‘घर खर्च जोहो गर्ने बुवा मात्रै थिए । सुगरको बिरामी भएकाले उपचार गर्दागर्दै उनको स्वर्गबास भयो । त्यसपछि दिदीलाई पढाउन र खर्च जोहो भाइ भारततर्फ लागे,’ दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीले भने, ‘भारत जानुअघि भाइ पनि दिदीसँगै कक्षा १२ मा पढ्थे ।’

अध्यक्ष कार्कीका अनुसार अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । गाउँपालिकाले नजिकका मानिसहरू चिनाउने र बोलाउने काममा सहयोग गरिरहेको उनले बताए ।

‘अहिले हामीले प्रहरीलाई सघाइरहेका छौं,’ अध्यक्ष कार्कीले लोकान्तरसँग भने, ‘यस्तो अपराध गर्ने अपराधीलाई पक्राउ गर्नेतर्फ लागेका छौं ।’

अध्यक्ष कार्कीका अनुसार भागरथीको गाउँबाट विद्यालयसम्म पुग्न करीब १ घण्टा लाग्छ । बीचमा २० मिनेटको बाटोमा जंगल छ ।

विद्यालय टाढा हुनु र जंगलको बाटो पार गर्नपर्नु पनि भागरथीको मृत्युको कारण बन्न पुग्यो ।

‘पहिला त अपराधी पत्ता लागोस्, यो घटनापछि विद्यालयका बारेमा विकल्प पनि सोचिरहेका छौं,’ अध्यक्ष भट्टले भने ।

बुधवार घरबाट विद्यालय गएकी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीवार साँझ ५ बजेतिर हत्या गरी फालिएको अवस्थामा लबलेक सामुदायिक वनमा शव फेला परेको थियो ।

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार सडकबाट झण्डै ५० मिटर तल झाडीमा भेटिएकी भागरथीको टाउकोमा चोट लागेको छ ।

‘घाँटीमा थिचेर हत्या गरेको जस्तो देखिने मार्क पनि छ हातमा कोतरिएको देखिन्छ,‘ ती प्रहरी अधिकारीले भने, ‘यौनाङ्गमा रगत पनि भेटिएकाले बलात्कारपछि हत्या भएको हो कि भन्ने अनुमान लगाउन सकिन्छ, तर पोस्टमार्टमपछि सबै रिपोर्ट बाहिर आउला ।’

अहिले सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदी, एसएसपी जनक पाण्डे, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, डीएसपीको नेतृत्वमा सीआईबी, सीडीओ, सरकारी वकिलको कार्यालयका प्रमुख र सरकारी डाक्टरसहितको टोली घटनास्थलमा छ ।

प्रहरीले भागरथीका साथीभाइ र आफन्तहरूसँग सोधपुछ गरिरहेको छ ।

हिजो मात्रै ६ जनालाई सोधपुछ गरेर छाडेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता जनक धामीले बताए ।

आज प्रहरीले विद्यालयका साथीभाइसँग सोधपुछसँगै भागरथीको मोबाइल लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस