भदौ २० गतेबाट लाइसेन्स परीक्षा खुल्दै, नयाँ आवेदकले कात्तिकसम्म कुर्नुपर्ने

नौलो समाचार संवाददाता
२०७८ भाद्र १५, मंगलबार मा प्रकाशित ३२१ पटक पढिएको
भदौ २० गतेबाट लाइसेन्स परीक्षा खुल्दै, नयाँ आवेदकले कात्तिकसम्म कुर्नुपर्ने

भदौ २०, काठमाडौं। कोरोना संक्रमणको दर केही घटेसँगै सवारी लाइसेन्सका लागि आवेदन दिएका पुराना आवेदकहरूको परीक्षा सुरु हुने भएको छ। यातायात व्यवस्था विभागले यही भदौ २० गतेदेखि परीक्षा सञ्चालन गरिने जनाएको छ।

कोरोना संक्रमणको दोस्रो लहरको जोखिमबाट जोगिन गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेसँगै सवारी चालक अनुमति पत्रको परीक्षा रोकिएको थियो। विभागले वैशाख १६ गते पूर्व आवेदन दिएकाहरूको परीक्षा सञ्चाल गर्न मातहतका निकायलाई निर्देशन दिइसकेको छ।

सबै यातायात व्यवस्था कार्यालयहरूलाई स्वास्थ्य मापदण्ड पालना गरी सवारी चालक अनुमति पत्रको परीक्षा सञ्चालन गर्न पत्राचार गरिसकिएको जानकारी यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिनुभयो।

स्वास्थ्य मापदण्ड पालनाका लागि एक सिफ्टमा बढीमा २ सय जना परीक्षार्थीलाई मात्र सहभागी गराइनेछ। एउटा कोठामा २५ जना परीक्षार्थीमात्र राखिने विभागको तयारी छ। ६ लाख पुराना आवदेक परीक्षाको प्रतिक्षामा थिए।

आवश्यक चालक अनुमति पत्र छाप्ने स्मार्ट कार्ड खरिदमा विलम्ब हुँदा नयाँको चाप थेग्न कठिन हुने देखेर पुराना आवेदकको मात्र परीक्षा लिन लागिएको महानिर्देशक घिमिरेले बताउनुभयो।

प्राविधिक तथा विभागीय त्रुटिले अनुमति पत्रका लागि आवश्यक स्मार्टकार्ड खरिदमा विलम्ब भइरहेको महसुस गर्दै विभागले १४ लाख स्मार्ट कार्ड खरिद प्रक्रिया अगाडि बढाएको छ।

कार्ड छापिएर आउन डेढ महिना लाग्ने भएकाले असोज महिनाको अन्तिमतिर मात्र सवारी अनुमति पत्र लिन चाहने नयाँ आवेदकलाई परीक्षामा समावेश गर्न सकिने महानिर्देशक घिमिरेको भनाइ छ।

लिखित परीक्षामा नयाँ नियम लागू गरिँदैछ । लिखितमा उत्तीर्णहरूले पुरानै नियम अनुसार प्रयोगात्मक परीक्षा अर्थात ट्रायल दिनुपर्नेछ। लिखित र ट्रायलमा उत्तीर्ण भएकाहरूले मात्र सवारी साधन चालक अनुमति पत्र प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस