काठमाडौंको तार्केश्वरमा एकै परिवारका ४ जनाको हत्या

नौलो समाचार संवाददाता
२०७९ श्रावण १६, सोमबार मा प्रकाशित ५४१ पटक पढिएको

काठमाडौंको तार्केश्वरमा एकै परिवारका ४ जनाको हत्या

साउन १६, काठमाडौं। काठमाडौंको तार्केश्वर नगरपालिका-२ पदमशालमा मृत अवस्थामा फेला परेका चारै जनाको पहिचान खुलेको छ।

सोमबार एक तले घरभित्र एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन्। मृतकहरू गोरखा स्थायी घर भई अहिले पदमशालमा बस्दै आएकाहरू हुन्।

मृत फेला पर्नेमा ३८ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३४ वर्षीया सुनिता, ११ वर्षीया छोरा आशिक र ७ वर्षीया आशिका छन्।

उनीहरूको शव विभत्स अवस्थामा फेला परेको नगरपालिकाका मेयर कृष्णहरि महर्जनले जानकारी दिए। उनी आफैं पनि घटनास्थलमा पुगेका थिए।

उनका अनुसार आशिका छाउनीस्थित सैनिक स्कुलमा पढ्थिन्। सोमबार बिहान स्कुल बस लिन आउँदा पनि उनी स्कुल बसमा चढ्न आइनन्। घरनजिकै बस्ने दिनेशका दाइले हेर्न जाँदा उनीहरू मृत फेला परेको मेयर महर्जनले बताए।

‘बिहान नानीलाई लिन बस आएको रहेछ। उनी बस चढ्न नआएपछि हेर्न जाँदा घटना भएको देखिएको हो,’ उनले भने, ‘त्यसपछि प्रहरीलाई खबर गरिएको थियो।’

मेयर महर्जनका अनुसार एउटा कोठामा आमा र छोराछोरीको हत्या गरिएको अवस्थामा फेला परेको छ भने दिनेश अर्को कोठामा मृत अवस्थामा फेला परेका छन्।

दिनेशले घाँटी काटेको अवस्थामा फेला परेको उनले बताए।

घटनाबारे खबर पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेको छ।

घटनाबारे अनुसन्धान गर्न फरेन्सिक डाक्टरको पनि टोली पुगेको छ।

तारकेश्वर-२ का वडाध्यक्ष राधाकृष्ण खड्गीका अनुसार दिनेशले पदमसाल चौकमा बिजुलीका सामान बेच्ने पसल चलाएका थिए। अहिले पनि उनले पसल चलाइरहेका थिए कि थिएनन् भन्ने खुलेको छैन। घटनाको अनुसन्धन जारी छ।


प्रतिक्रिया दिनुहोस