वी.पी.को नीति : आज पनि उतिकै सान्दर्भिक

नौलो समाचार संवाददाता
२०८३ श्रावण ६, बुधबार मा प्रकाशित १६८ पटक पढिएको

वी.पी.को नीति : आज पनि उतिकै सान्दर्भिक

कांग्रेसले राष्ट्रियता र लोकतन्त्रको संबद्र्धन गर्दै लोकतान्त्रिक समाजवादको आदर्शअनुरुप समानुपातिक, समावेशी सिद्धान्तका आधारमा नेपाललाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रुपमा स्थापित गरी राजनीतिक, सामाजिक र आर्थिक विकास गर्ने उद्देश्य लिएको छ । त्यति मात्र होईन कांग्रेसले राजनीतिक स्वतन्त्रतासहितको जनउत्तरदायी शासन प्रणाली र न्यायोचित वितरणको प्रबन्धबाट मानिसलाई आर्थिक तथा सामाजिक शोषणबाट मुक्ति दिलाउने समाजवादी आर्थिक संरचना निर्माण गर्ने वैचारिक मार्ग अवलम्बन गरेको छ । बीसौं शताब्दीको मध्यतिर विश्वमा चलेको समाजवादी आन्दोलनको प्रभावमा विसं २०१२ सालमा वीरगन्जमा सम्पन्न छैटौँ महाधिवेशनबाट कांग्रेसले यस प्रकारको समाजवादी अर्थनीति अवलम्बन गरेको हो । त्यसैवेलादेखि नेपाली कांग्रेसले राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई आफ्नो आदर्शको रुपमा लिदै आएको छ ।

राष्ट्रियताको सवालमा नेपाली कांग्रेसको नीति स्थापनाकालदेखि नै स्पष्ट छ । त्यसलाई वि.पी. कोइरालाले थप व्याखा गरेका छन् । “राष्ट्रियता कुनै भूगोल होईन जनताको सामुहिक मनोभावनालाई लक्षित गर्ने शब्द हो” – वि.पी. कोईराला । कुनै परिस्थिति तथा समयमा राष्ट्रलाई आइपर्ने समस्याहरुको समाधानको लागि लाग्नु पर्दा सामुहिक रुपमा सम्पुर्ण जनतामा उत्पन्न हुने जनभावना नै राष्ट्रियता हो ।

नेपाली कांग्रेस राष्ट्रिय एकता अभिबृद्धि गरी नेपालको सार्वभौम अस्तित्व रक्षाका लागि सदा तत्पर रहदै आएको छ । जस्तैः देश बाहिर बसेर पञ्चायती व्यवस्था विरोधी आन्दोलनमा लाग्दा बैदेशिक हस्तक्षेप र राष्ट्रियतामाथि नै खतरा देखेपछि वि.पी. कोइरालाले वि.सं २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिई आफुविरुद्ध थुप्रै मुद्दाहरु हुदाँ हुदै र फाँसीसम्म हुन सक्ने खतरालाई पर्वाह नगरी स्वदेश फर्केका थिए । उक्त कदमलाई कतिपय साथीहरुले आत्मसमर्पणको नीति भनेता पनि कोइरालाले प्रजातन्त्रको विषयमा राजासंगको झगडा यथावत छ तथापि राष्ट्रियताको सवालमा राजा र मेरो घाँटी जोडिएको छ भनेका थिए । यसको मतलव देश नरहे न राजा रहन्छ न आफूू । त्यसैले नेपाली कांग्रेस राष्ट्रका सामु उत्पन्न असहज परिस्थितिलाई समाधान गर्न, नेपाली हुँ भनेर आत्मगौरव बचाई राख्न र देशको अखण्डताको भावना विकास गराई राष्ट्रियता मजबुद गर्ने तर्फ सदैव दृढ संकल्पित रहदै आएको छ ।

लोकतन्त्रको सवालमा नेपाली कांग्रेसले सदैव जनतालाई केन्द्रमा राख्दै आएको छ । जनताद्वारा जनताले जनताको लागि गरिने शासन ब्यवस्था÷पद्दति नै लोकतन्त्र हो– अब्राहम लिंकन सोह«ौ अमेरिकी राष्ट्रपति । लिंकनले भने जस्तै नेपाली कांग्रेस सदैव जनताद्वारा गरिने लोकतान्त्रिक शासन व्यवस्थामा आस्था र पुर्ण विश्वास राख्दछ । लोकतन्त्रमा विचार बोक्ने स्वतन्त्रता, सभा सम्मेलन गर्ने स्वतन्त्रता, संगठन गर्ने स्वतन्त्रता, न्यायिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता प्राप्त हुन्छ । लोकतन्त्रमा हरेक मानिस स्वतन्त्रपुर्वक बाँच्न पाउने अधिकार प्रदान गरिएको हुन्छ । लोकतन्त्रमा हरेक नागरिक सार्बभौम हुन्छन ।

लोकतन्त्रमा डर, त्रास तथा धम्कीबाट मुक्त भएर गोप्य मतदानबाट सही प्रतिनिधि छनौट गर्न आवधिक निर्वाचनको व्यवस्था गरिएको हुन्छ । निर्वाचनबाट चुनिएर गएका दलका प्रतिनिधिहरुले सरकार सञ्चालन गर्दछन् । लोकतान्त्रिक व्यवस्थामा अल्पमतको कदर, फरक विचारको सुनुवाई हुन्छ । यस्तो व्यवस्थामा निर्वाचित दल वा व्यक्तिले जनभावना अनुसार काम गर्न नसकेमा प्रत्याह्वान गर्ने वा अर्को निर्वाचनमा अर्कै दललाई निर्वाचित गर्ने सम्भावना हुन्छ । शान्तिपुर्ण ढंगबाट शासन परिवर्तन गर्ने परिपाटी लोकतन्त्रमा मात्र हुन्छ । जनताले चुनेको प्रतिनिधिले कानुन निर्माण गरी सोही बमोजिम शासन गर्ने परिपाटी लोकतन्त्रमा मात्र हुन्छ । सारमा भन्नु पर्दा जनताले, जनताद्वारा जनताकै भलाईका लागि गरिने शासन व्यवस्थालाई नै लोकतन्त्र भनिन्छ ।

मानव अधिकारको सुनिस्चितता, आवधिक निर्वाचन, वालिग मताधिकार, वैचारिक स्वतन्त्रता, नागरिक सर्वोच्चता, बहुदलीय ब्यवस्था, संगठन खोल्ने वा गर्ने अधिकार, कानुनी राज्य, विधिको शासन, प्रेस स्वतन्त्रता, बहुलवाद जस्ता पक्षहरु लोकतान्त्रिक शासन व्यवस्थको आधारहरु हुन् ।

जनताको प्रतिनिधिको सरकार, त्यस्ता प्रतिनिधिहरुको छनौट आवधिक निर्वाचनका माध्यमबाट गरिने, आवधिक निर्वाचन माध्यम सँगसँगै जोडिएर आउने अर्काे कुरा वादविवादको स्वतन्त्रता अर्थात विचार अभिव्यक्तिको स्वतन्त्रता, विभिन्न विचारधारा या मतको पक्षमा जनताले आफ्नो भोट दिन पाउने, फरक फरक मत या विचार भएका व्यक्तिहरुले सम्मिलित आवाज उठाउने अधिकार अर्थात संगठन निर्माण तथा दल खोल्न पाउने अधिकारहरु लोकतन्त्रको आधारभूत पक्षहरु हुन । नेपाली कांगे्रस यी अधिकारहरु प्राप्तीको लागि स्थापनादेखि नै प्रतिबद्ध रहदै आएको छ ।

यी अधिकार सबै नागरिकले समान रुपले पाउनुृ पर्दछ । यस्तो अधिकार धनीलाई मात्र होइन गरीबलाई पनि हो । शिक्षितलाई मात्र होइन अशिक्षितलाई पनि, तागाधारीलाई मात्र होइन मतवालीलाई पनि, लोग्नेमान्छेलाई मात्र होइन स्वास्नीमान्छेलाई पनि, गोरालाई मात्र होइन कालालाई पनि । कोही कसैलाई भेदभाव नराखी यी अधिकार सबैलाई सुरक्षित रहनु पर्दछ । समग्रमा भन्नुपर्दा व्यक्तिगत स्वतन्त्रता मौलिक अधिकार, आवधिक निर्वाचन, पार्टी संगठनको अधिकार आदि लोकतन्त्रका अभिन्न अंग हुन् भन्ने कुरालाई नेपाली कांग्रेसले स्वीकार गरी यी मूलभूत मान्यताका सन्दर्भका कोही कसैसँग पनि सम्झौता गर्दैन ।

नेपाली कांग्रेसको अर्को आदर्श समाजवाद हो । नेपाली कांग्रेस लोकतान्त्रिक समाजवादमा विश्वास राख्दछ । राजनैतिक स्वतन्त्रताको माध्यमबाट आर्थिक समानता कायम हुनुपर्दछ भन्नेमा नेपाली कांग्रेस ढृढ रहदै आएको छ । राजनैतिक स्वतन्त्रता मात्र भएर आर्थिक समानता नभए त्यहाँ पुँजीपतिको बाहुल्य हुनजान्छ र पुँजीवादको विकास हुन्छ । आर्थिक समानता मात्र भएर राजनैतिक स्वतन्त्रता नभएमा त्यहाँ साम्यवाद (कम्युनिष्ट) हावी हुन्छ जुन एकदलिय अधिनायकवादी हुन्छ । समाजवादी व्यवस्थामा उत्पादनका साधनहरुको पुर्ण परिचालन गरिएको हुन्छ । राज्यले आफ्नो केन्द्रीय योजना मार्फत वस्तु तथा सेवाको उत्पादन गर्ने राज्य संयन्त्र तयार पारेको हुन्छ । लोकतान्त्रिक समाजवादले समाजमा सामाजिक न्याय, आर्थिक समानता कायम गर्न उत्पादनका साधनहरु जस्तैः कलकारखाना, उद्योग तथा ब्यापारलाई राज्य निर्मित कानुनद्वारा संरक्षित तथा निर्देशित गरिएको हुन्छ ।

समाजमा बस्ने मानिसहरु उत्पादन कार्यमा सहभागी हुँदा शोषण, भ्रष्टचार, अन्याय कम हुनुका साथै आर्थिक अनुशासन कायम हुन्छ । जनताले व्यक्तिगत रुपमा आफ्नो घर खेत गाई बस्तु राख्न पाउँछन र इच्छा अनुरुपको पेशा गर्न पाउँछन । सरकारले जनतालाई विकासको काममा अभिप्रेरित गराउछन । विकासको निर्णय गर्ने तहदेखि लिएर त्यो निर्णय कार्यान्वयन गर्ने तहसम्म जनतालाई सामेल गराईन्छ । लोकतान्त्रिक समाजवादमा धनी र गरीबबीचको खाडल कम गर्न राज्यले निर्देशित अर्थ व्यवस्था लागू गरिन्छ । समाजवादी व्यवस्थामा प्रगतीशील कर प्रणली लागू गरी राज्यको स्रोत र साधनमा बृद्धि गराई राज्यले विपन्न वर्गको उन्नतीको लागि नीति बनाईन्छ । यस प्रकारको वी.पी. कोइरालाको नीति आज पनि उतिकै सान्दर्भिक छ ।

(लेखक नेपाली कांग्रेस काभ्रेपलाञ्चोक प्रतिनिधी सभा क्षेत्र नं १ का सभापति एवं रोशी गाउँपालिका अध्यक्ष हुन् ।)






प्रतिक्रिया दिनुहोस