ठिक भनिस् साहिँला

सुरेन्द्र अस्तफल, चितवन
२०७९ भाद्र ११, शनिबार मा प्रकाशित ५१५ पटक पढिएको
ठिक भनिस् साहिँला

ढोग गरेँ बा भाग्यमानी भएस् साहिँला

बासँग यसरी मागिरहेछु भाग्यमानी हुनुको आशिष्

चार बीस हिउँद बर्खा खाएर जीवनको कठघरामा

बा स्वयम्

बन्नुभएको छ इतिहासको साक्षी

लागिरहेछ बासँग अझै स्वाभिमानी तागत छ

छातीभित्र स्नेहका तन्तुहरू उसरी नै सलबलाइरहेछन्

बासँग हजारौँ स्वप्निल स्मृतिहरू छन् हामीसँग जोडिएका

 

उहाँ एउटा मूल जरो हामी त्यसका हाँगाबिँगा सोसिरहनुभएको छ

जमिनबाट अझै पनि उसरी नै

अलिकति पानी

अलिकति मल

अलिकति बल

र बाँडिरहनुभएको छ

अमृतमयी सुवास

 

सञ्चै हुनुहुन्छ बा

सञ्चै छु भन्नुपर्यो साहिँला

किन नि बा

तिमीहरू पखेटा लागेपछि उडी हाल्यौ

गाउँको गुँडबाट

र सहरमा घरजम गर्यो

उड्छु बा भन्यौ

नउड भन्न सकिनँ

म पनि उडेरै आएको थिएँ

आरुचौरबाट कुनै दिन

फर्केर जान सकिनँ

चितौनले तानिरह्यो

 

आज बाको मुख हेर्ने दिन

बिहानै आएँ बालाई भेट्न

 

ठिक गरिस् साहिँला

धन्न वर्षको एकदिन त सम्झन्छस्

बाँकी दिन तिमीहरूलाई नै सम्झेर बसिरहन्छु

भो ! बा पुग्यो

अब घर फर्कन्छु

छोराछोरी र श्रीमतीले कुरिबसेका छन्

आज बुहारीको जन्मदिन

केटाकेटीहरू रेस्टुरेन्ट जाने भनेका छन्

ठिक भनिस् साहिँला

आखिर माया र पानी तलतलै त बग्छन् नि

मूललाई बिर्सेर कहिल्यै

तलतलै मात्र नबगेस् जीवनमा

घर पुगेर

फुन गरेस् है साहिँला

एकपटक नातिनातिनी र बुहारीसित बोल्ने मन छ।

 

सुरेन्द्र अस्तफल, चितवन


प्रतिक्रिया दिनुहोस