केन्यालाई १६ रनले हराउँदै नेपालले जित्यो ‘वान डे’ श्रृंखला

नौलो समाचार संवाददाता
२०७९ भाद्र १८, शनिबार मा प्रकाशित ३९१ पटक पढिएको
केन्यालाई १६ रनले हराउँदै नेपालले जित्यो ‘वान डे’ श्रृंखला

भदौ १८, काठमाडौँ। केन्यालाई १६ रनले हराउँदै नेपालले ‘वान डे’ श्रृंखला जितेको छ । २ सय ३१ रनको लक्ष्य पछ्याएको केन्याले २१४ रन मात्रै बनाउन सक्यो । केन्याको राजधानी नैरोबीमा शनिबार भएको खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले अन्तिम ओभरमा अल आउट हुनुअघि २ सय ३० रन बनाएको थियो ।

प्रतिउत्तरमा ब्याटिङ गरेको केन्या ४६ ओभर ३ बलमा अलआउट भयो । केन्याका लागि रकेप पटेलले ८२ रन बनाए । १ छक्का र ७ चौका प्रहार गरेका रकेपलाई दीपेन्द्रसिंह ऐरीले आउट गरेका थिए ।केन्याविरुद्ध राम्रो ब्याटिङ गर्न नसकेका दीपेन्द्रले ४ विकेट लिए ।

रकेपले भने पाँचौं विकेटका लागि कोलिन ओबुयासँग ८२ रनको साझेदारी गर्दै खेल केन्याको पक्षमा पार्न प्रयास गरेका थिए । कोलिनले ३७ रन बनाए ।

नेपालका लागि जोखिम बन्ने अवस्थामा पुगेको उनीहरूको साझेदारीलाई पवन सर्राफले तोडेका थिए । रकेपले नेहेमिया अधिअम्बोसँग छैठौं विकेटका लागि ५० रनको साझेदारी गरेका थिए । नेहेमियाले १३ रन बनाए ।

केन्याका लागि नेलसन अधिअम्बोले २८, इरफान करिमले ८ रन बनाएका थिए । २ सय ३१ रनको मध्यम लक्ष्य पछ्याएको केन्याको सुरुवात राम्रो हुन सकेन । दोस्रो इनिङको पहिलो बलमा ओपनर सुखदीप सिंहलाई सोमपाल कामीले बोल्ड गरेका थिए ।

पहिलो स्पेलमा कामीले ३ विकेट लिएपछि केन्याको सुरुवात राम्रो हुन सकेन । ८ ओभर नपुग्दै केन्याले ४ विकेट गुमाएर ३९ रन बनाएको थियो।

यसअघि नेपालका लागि कप्तान रोहित पौडेलले ७८ रनको पारी खेलेका थिए । ९५ बल खेलेका पौडेलले ७ चौका प्रहार गरेका थिए । नेपालका लागि देव खनालले ३७, सोमपाल कामीले २६, ज्ञानेन्द्र मल्लले २५, बसिर अहमदले १७, मोहम्मद अदिल आलमले १४, करण केसीले ११ रन बनाएका थिए । ओपनिङ ब्याट्सम्यान अर्जुन साउद ५ रनमै आउट भएका थिए ।

प्रतिक्रिया दिनुहोस