नदी

सूर्यप्रसाद लाकोजू
२०७९ आश्विन १, शनिबार मा प्रकाशित २८५ पटक पढिएको

नदी

धारेहात लगाउँदै
मुख नदुखुन्जेल
मलाई गाली गर्न बन्द गर
यसमा मेरो के दोष?
बहनु मेरो धर्म हो
उकालोबाट ओरालोतिर झर्छु म
यही मेरो कर्म हो
त्यसैले
मलाई गाली नगर्नु
हात उठाई
धारेहात लगाई
मलाई नसराप्नु ।

गंगा भनी पुजेको नदि
हामी सबैलाई जीवन दिने नदि
हिंस्रक बन्यो नभन्नु
हाम्रा बस्तु, चौपाया बगायो
खेत, खलियान बगायो
भन्दै गुनासो मात्र नगर्नु
पहिले म गहिरो थिएँ
फराकिलो भएर बहन्थें

अहिले
मलाई सांघुरो बनाइएको छ
म अतिक्रमणमा परेको छु
मेरो छातिमाथि
घर बनाइएका छन
करेसा बारी बनाइएका छन
यति विघ्न विनाशको जिम्मेवार म हुँदै होइन

त्यसैले
मलाई गाली नगर
मेरो भूभाग हड्पिँदा पनि
म त मलाई दिएकै बाटोबाट बगेको हुँ
दोष जति मेरो थाप्लोमा थुपारेर
तिमी कसरी पानीमाथिको ओभानो बन्नसक्छौ ?

  • सूर्यप्रसाद लाकोजू

प्रतिक्रिया दिनुहोस