मेरो सत्यलाई कालो नदल्नू तिमीहरू !

कमला तामाङ , मिरिक
२०७९ कार्तिक ५, शनिबार मा प्रकाशित ५९७ पटक पढिएको
मेरो सत्यलाई कालो नदल्नू तिमीहरू !

तिमीहरूको मस्तिष्कमा
सायद हरदम पाकिरहन्छ
दूषित बिचारहरू !
तिमीहरूका दोषी आँखाहरूले
व्यर्थका , नभएका कुराहरू मात्र
किन देख्न खोजिरहन्छ ?
तिमीहरू साह्रै व्यस्त
भइरहँदो रहेछौ –
गिदीको कारखानामा
शङ्काको प्रारूप तयार गर्न ।
तिमीहरू
म जस्ताहरूको परोक्ष शिकार गर्छौं
शङ्काको धारिलो हतियारले
अनि वरिपरि बसेर
म जस्ताहरूलाई केन्द्रित बनाउँदै
चर्चाको चम्मचले
जिब्रो पड़्काउँदै स्वाद लिन्छौ !

छि: !
तिमीहरूका मानसिकता
कति निकृष्ट !
कति घृणित !!
म जस्ताहरूले
आफ्ना श्रद्धेय अभिभावकको
ओत ओड़्दा
तिमीहरूको लुगामा
किन काउसो पसेको होला ?
विपरीत लिङ्गकाहरू
हरसमय एकसाथ हुनु भनेको
तिमीहरूका मैला सोंचले लेखेको
फ्यान्टासीको परीकथा हुँदैन है ।
कुत्सित भाव बोक्ने मानवहरू !
सम्बन्धहरूको गरिमा नबुझ्ने
तिमीहरूलाई के थाह
साथ हुनु भनेको
वात्सल्य तिर्खा पनि हो ,
नहुनेहरूले खोजेका
अभिभावकीय भरोसा पनि हो ।
तिमीहरूका अधोमति समातेको विवेकलाई
नकार्छु म
धिक्काछु म ।

आदर्शको वर्णमालासँगै हुर्किएकी
म जस्ताहरूका मर्यादा
सीमाङ्कित हुँदैछ –
जुन कुरा
तिम्रा बिरबलको खिचड़ी पकाइरहने
मस्तिष्कले बुझ्दैन ।
थुक्नैपर्ने हो त
धेरै पढेर पनि सही-गलतको
हिसाब राख्ने नजान्ने
तिमीहरूका बुद्धिलाई ?

  • कमला तामाङ , मिरिक, दार्जलिङ

प्रतिक्रिया दिनुहोस