केही मुक्तक

बाबुकाजी थामी, सिन्धुपाल्चोक
२०७९ पौष ९, शनिबार मा प्रकाशित २४३ पटक पढिएको
केही मुक्तक

१.
कहिल्यै नछुटिने मायाँको डोरी बाट्नु पाए हुन्थ्यो
यो जीवनभरि मनसँग मन साट्नु पाए हुन्थ्यो
भगवानले यो भाग्यमा के के लेख्या छ कुन्नि
सधैँभरि हाँसीखुसी दिनहरू काट्नु पाए हुन्थ्यो।

२.
दुई दिनमै बिग्रिने, भत्किने त्यस्तो घर हुन्न हजुर
यहाँ धेरै नक्कल पार्नेहरूको साँच्चै भर हुन्न हजुर
दुःख, सुख बुझ्ने सँग बिहे गर्नुपर्छ भन्छन् सबैले
मलाई पनि त्यस्तै लाग्छ जीवनभर डर हुन्न हजुर ।

३.
फूलबारीमा फूलैफूलको लहर भएर के गर्नु
एउटा मन पर्ने फूल टिप्ने रहर भएर के गर्नु
फूलहरूसँगै तरङ्ग पनि थरीथरीका हुन्छन्
उमङ्गले भरिपूर्ण सपनाको सहर भएर के गर्नु !

४.
मेरो नजिक आऊ पनि भन्दिनँ म
मेरो हात समाऊ पनि भन्दिनँ म
तिम्रो ती सपनाहरू अधुरो बनाई
मसँग मायाँ लाऊ पनि भन्दिनँ म ।

५.
तिमी त्यो पराइको मायाँमा सधैँ फसेरै जीवन जाला है
नयाँ लुगा फेरि फेरि लाली पाउडर घसेरै जीवन जाला है
बरु मन मिल्ने साथी बेलामा नै रोज्ने गर्नु तिमी
उमेर ढल्केपछि त माइती घरमा बसेरै जीवन जाला है ।

 

  • बाबुकाजी थामी, सिन्धुपाल्चोक

प्रतिक्रिया दिनुहोस