नदी- सूर्यप्रसाद लाकोजू

सूर्यप्रसाद लाकोजू
२०७९ चैत्र १८, शनिबार मा प्रकाशित २२५ पटक पढिएको
नदी- सूर्यप्रसाद लाकोजू

धारेहात लगाउँदै
मुख नदुखुन्जेल
मलाई गाली गर्न बन्द गर
यसमा मेरो के दोष?
बहनु मेरो धर्म हो
उकालोबाट ओरालोतिर झर्छु म
यही मेरो कर्म हो
त्यसैले
मलाई गाली नगर्नु
हात उठाई
धारेहात लगाई
मलाई नसराप्नु ।

गंगा भनी पुजेको नदि
हामी सबैलाई जीवन दिने नदि
हिंस्रक बन्यो नभन्नु
हाम्रा बस्तु, चौपाया निल्यो
खेत, खलियान बगायो
धनमाल एकादेशको कथा बनायो
भन्दै गुनासो मात्र नगर्नु
आफ्नो मन रिसले मात्र नभर्नु ।

पहिले म गहिरो थिएँ
फराकिलो भएर बहन्थें
अहिले
मलाई सांघुरो बनाइएको छ
म अतिक्रमणमा परेको छु
मेरो छातिमाथि
घर बनाइएका छन
करेसा बारी बनाइएका छन
यति विघ्न विनाशको जिम्मेवार म हुँदै होइन
त्यसैले
मनमा एकोहोरो आवेग नभर
मलाई मात्र गाली नगर ।

मेरो भूभाग हड्पिँदा पनि
म त मलाई दिएकै बाटोबाट बगेको हुँ
पवित्र गङ्गा भनी पुज्ने नदीमा
मलमूत्रको ढल मिसाउँदा पनि
मेरो धीरता सगरमाथा बनेकै थियो
प्राणीहरूको प्यास मेट्ने मेरो जल
कीराहरूको साम्राज्य हुँदा नि
मेरो रोदन कसैलाई सुनाइन
वर्षायामलाई नजर अन्दाज गरेर
दोष जति मेरो थाप्लोमा थुपारेर
तिमी कसरी पानीमाथिको ओभानो बन्न सक्छौ ?

  • सूर्यप्रसाद लाकोजू

प्रतिक्रिया दिनुहोस