शनिबार दोलालघाटमा विपद् प्रतिकार्य संयुक्त अभ्यास

नौलो समाचार संवाददाता
२०८० बैशाख २२, शुक्रबार मा प्रकाशित ९९६ पटक पढिएको
शनिबार दोलालघाटमा विपद् प्रतिकार्य संयुक्त अभ्यास

वैशाख २२, काभ्रे। जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेले भोलीे शनिबार दोलालघाटमा विपद् प्रतिकार्य संयुक्त अभ्यास गर्ने भएको छ । संयुक्त अभ्यासलाई मनसुन ३ अभ्यास नामाकरण गरिएको छ ।

मनसुन तथा अन्य विपद्का घटनामा खोज तथा उद्धार तथा विपद् प्रतिकार्यका लागि अपनाउनु पर्ने पूर्व तयारीमा संयुक्त अभ्यास “मनसुन ३“ को  लागि काभ्रे जिल्ला भूम्लू गा.पा वडा ८ दोलालघाट स्थित सुनकोशीको पुल आसपासका ईलाकाहरूमा श्री कालीजंग गणको नेतृत्वमा पूर्व अभ्यास गरिएको छ ।

श्री कालीजंग गणका सेनानी निरञ्जन खड्काको कमाण्डमा  नेपाली प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाईटी काभ्रे, जनप्रतिनिधि  तथा स्थानिय ब्यक्तिहरूको सहभागितामा पूर्व अभ्यास संचालन भएको छ ।

दोलालघाटमा हुने मनसुन ३ संयुक्त अभ्यासले जिल्ला स्तरमा उपलब्ध क्षमता (पूर्व तयारी र प्रतिकार्य) को लेखाजोखा, मानवीय सहायतामा संलग्न निकायहरुको पहिचान, प्रतिकार्यको साझा मापदण्ड तयार र खोज तथा उद्धार टोलीको क्षमता अभिवृद्धि गर्ने श्री कालीजंग गणका गणपति कर्णेल प्रकाशबहादुर सिंहले जानकारी दिनुभयो । संयुक्त अभ्यासमा बगेको र डुबेको, पहिरोमा फसेको व्यक्तिको उद्धार गरिनेछ ।

काभ्रेमा चालु वर्षको ९ महिनामा पहिरोमा परेका ३, आगलागीमा परेका २५, चट्याङ्गमा परेका ४, हावाहुरीमा परेका १ र करेन्टका कारण विपदमा परेका एक जनाको उद्धार गरिएको छ । विपद्का कारण ३ सय ७७ जना घाइते भएका छन् भने ५९ जनाको मृत्यु भएको छ । ४ सय २४ वटा घटना भएको तथ्ग्याङ्कमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षमा विपदमा परी ३ सय ५० जना घाइते भएका थिए भने ५६ जनाको मृत्यु भएको थियो । ४ सय ४३ वटा घटना भएका थिए । खोज तथा उद्धार तथा विपद अभ्यासमा १३ वटै स्थानीय तहको प्रतिनिधित्व हुने छ ।


प्रतिक्रिया दिनुहोस