काभ्रे पनौतीको सामुदायिक सहकारीमा चोरीको आरोपमा दुईजना मकवानपुरबाट पक्राउ

नौलो समाचार संवाददाता
२०८० जेष्ठ १, सोमबार मा प्रकाशित ४२३७ पटक पढिएको
काभ्रे पनौतीको सामुदायिक सहकारीमा चोरीको आरोपमा दुईजना मकवानपुरबाट पक्राउ

जेठ १, हेटौँडा। काभ्रेको पनौती नगरपालिका-४ स्थित पनौती सामुदायिक सहकारी लुटपाटमा संलग्न आरोपमा दुईजना मकवानपुरबाट पक्राउ परेका छन् ।

गत वैशाख १७ गते सहकारीबाट ३३ लाख रूपैया चोरी गरी फरार रहेका दुईजनालाई काभ्रे तथा मकवानपुर प्रहरीको संयुक्त टोलीले मकवानपुर इन्द्रसरोबर गाउँपालिका-५ बाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा इन्द्रसरोबर-५ बस्ने ३० वर्षीय अशोक रुम्बा र ३५ वर्षीय अकबर लामा रहेको प्रहरीले बताएको छ । उनीहरूको साथबाट प्रहरीले नगद ५ लाख ४५ हजार, एक थान एकनाले भरुवा बन्दुक र रडसमेत बरामद गरेको छ ।

सहकारी चोरी गर्नेहरूमाथि अनुसन्धान गरिरहेको प्रहरीले विशेष सूचनाको आधारमा दुईजनालाई पक्राउ गर्न सफल भएको र घटनाबारे थप अनुसन्धान जारी जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवम् डीएसपी टेकबहादुर कार्कीले बताउनुभयो।

उनीहरुमाथि थप अनुसन्धान र कारवाही प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालय काभ्रे धुलिखेल ल्याईएको छ। भोलि मंगलबार दिउसो ३ बजे चोरीमा संलग्न अभियुक्तहरुलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डुण्डीराज न्यौपानेले जानकारी दिनुभयो।

सम्बन्धित समाचार : मध्ये रातमा यसरी भयो सामुदायिक सहकारीमा लुटपाट

 


प्रतिक्रिया दिनुहोस