बनेपा/ वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्रा.डा. सुमनराज ताम्राकारद्वारा लिखित महिला स्वास्थ्यसम्बन्धी जानकारीमूलक पुस्तक ‘स्वस्थ महिला’ प्रकाशन संस्था वी रिडले बजारमा ल्याएको छ ।
इन्टरनेट, गुगल, विकिपेडिया लगायतका सर्च इञ्जिनबाट स्वास्थ्यसम्बन्धी विभिन्न जानकारी पाउन सकिने भएपनि ती अंग्रेजी र जटिल मेडिकल शब्दावलीका कारण बुझाइमा समस्या हुने समस्या हुने गर्छ । आम नेपालीले बुझ्ने गरी नेपाली भाषामा पुस्तक तयार गरिएको डा.सुमन ताम्राकारले जानकारी दिए । उनका अनुसार, पुस्तकमा महिला स्वास्थ्यमा आइपर्ने विभिन्न समस्याको सरल तरिकाले व्याख्या गरिएको छ । महिला स्वास्थ्यका कतिपय कुरा, जुन अरुलाई सोध्न र बुझ्न असजिलो हुन्छ, त्यस्ता समस्यालाई पुस्तकले सहज बनाइदिएको छ । साधारण जानकारीको अभावमा महिलाहरुले कष्ट बेहोर्नुपरेको अनुभवका आधारमा उनीहरुको समस्यामा केन्द्रित रही पुस्तक तयार गरेको लेखक ताम्राकारले उल्लेख गरेका छन् ।
बाल्यकालबाट किशोरावस्थामा प्रवेश गर्दाका शारीरिक परिवर्तन, किशोरावस्थाका जटिलता र जिज्ञासा, महिनावारी, पाठेघर र डिम्बाशयबारे जानकारी, यौनजन्य संक्रमण, बाँझोपन, रजोनिवृत्ति लगायत महत्वपूर्ण विषयलाई पुस्तकले समेटेको छ । पाठेघरको मुखको संक्रमणका साथै विभिन्न अंगमा हुने क्यान्सर, तिनको रोकथाम र शल्यक्रिया अघि र पछिको हेरचाहका बारेमा समेत पुस्तकले जानकारी दिन्छ ।
प्रसूती अर्थात गर्भवतीसम्वन्धी एकाध पुस्तक नेपाली भाषामा उपलब्ध भए पनि स्त्रीरोग अर्थात महिला स्वास्थ्यमा भने छँदै छैन भने पनि हुन्छ । महिला स्वास्थ्यका विविध पक्षलाई समेटेर लेखिएको यो पुस्तक विषयवस्तु र प्रस्तुतिका हिसाबले खँदिलो भएकाले प्रत्येक घरमा संग्रह गरेर राख्न उपयुक्त हुने प्रकाशन संस्थाले जानकारी दियो ।
सन् २००२ देखि धुलिखेल अस्पतालमा कार्यरत डा. सुमन सन् २००७ देखि कन्सल्टेन्ट गाइनेकोलोजिस्टको भूमिकामा छन् । योसंगै करिब डेढ दर्जन स्वास्थ्य, संस्कृति एवं साहित्यका पुस्तकहरू प्रकाशित छन् ।





प्रतिक्रिया दिनुहोस