सत्ता पक्ष र प्रतिगमन पक्षधर दुवैको प्रहार एमालेलाई : महासचिव पोखरेल

नौलो समाचार संवाददाता
२०८० कार्तिक २४, शुक्रबार मा प्रकाशित २४७ पटक पढिएको
सत्ता पक्ष र प्रतिगमन पक्षधर दुवैको प्रहार एमालेलाई  :  महासचिव पोखरेल

धुलिखेल\ एमाले महासचिव शंकर पोखरेलले एमालेलाई सत्ता पक्ष र प्रतिगमन पक्षधर दुवैले प्रहार गरेको आरोप लगाएका छन् ।

एमाले धुलिखेल नगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले राज्य सञ्चालनको कुनै पनि भुमिकामा नरहेको एमाले प्रतिको प्रहार आश्चर्यजनक भएको बताए । ‘गठजोड बनाएर एमालेलाई सत्ता बाहिर त राखियो तर जनताको चाहना एमाले नै हो भन्ने सत्ता पक्ष र प्रतिगमन पक्षधरले बुझेका छन्,’ पोखरेलले भने, ‘त्यसकारण दुवै पक्षबाट एमालेलाई निरन्तर आक्रमण भइरहेको छ ।’ देशमा आर्थिक संकट चुलिएको भन्दै उनले वर्तमान राजनीतिक र आर्थिक संकटको समाधान ‘पपुलारिजम’बाट नहुने बताए ।

एमाले पोलिट्व्युरो सदस्य गोकुल बास्कोटाले मृत भइसकेको राजसंस्था फर्काउन सम्भव नभएको बताए । उनले सामाजिक सञ्जाल नियमन गर्ने प्रस्ताव आफूले गर्दा विरोध भएको स्मरण गर्दै स्वतन्त्रताको नाममा स्वच्छन्दता हुनु नहुने बताए ।

कार्यक्रममा एमाले जिल्ला इञ्जार्ज कृष्ण राई, जिल्ला अध्यक्ष अशोककुमार व्याञ्जु, नगर कमिटी अध्यक्ष दयाराम महत लगायतले शुभकामना व्यक्त गर्दै पार्टी र संगठनबारे चर्चा गरे ।

प्रतिक्रिया दिनुहोस