विद्यालयको बार्षिकोत्सवमा जग्गादाता सम्मानित

नौलो समाचार संवाददाता
२०८० माघ १७, बुधबार मा प्रकाशित १३४ पटक पढिएको
विद्यालयको बार्षिकोत्सवमा जग्गादाता सम्मानित

बेथानचोक – ढुंखर्कस्थित पार्वती माध्यमिक विद्यालयको ६४ औं बार्षिकोत्सवको अवसरमा जग्गाादाता लगायत विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ ।

विद्यालयलाई ११ आना जग्गा प्रदान गर्ने जग्गादाताहरु रघुनाथ तिमल्सिना, केशवप्रसाद तिमल्सिना, लक्ष्मी तिमल्सिना र राजेन्द्र तिमल्सिनालाई सम्मान गरिएको हो ।

बर्षभरका विविध गतिविधिमा विशेष योगदान दिनेलाई पनि विद्यालयले सम्मान गरेको छ । सेवानिवृत्त शिक्षक बाबुराम तिमल्सिनालाई शैक्षिक क्षेत्रमा पु¥याएको योगदानबापत कदर-पत्रसहित सम्मान गरियो ।

विभिन्न अक्षयकोषबाट ३६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको कार्यक्रममा विद्यालयमा कार्यरत उत्कृष्ट वर्ष शिक्षक सम्मान, कक्षा १२ सर्वोत्कृष्ट पुरस्कार लगायतका सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

प्रधानाध्यापक गोविन्द प्रसाद शर्माले पिता खगनाथ शर्मा एवं आमा भिमकला शर्माको स्मृतिमा स्थापित सर्वोत्कृष्ट विद्यार्थी पुरस्कार एस.इ.इ परिक्षामा सर्वोत्कृष्ट हुने अविना तिमल्सिना र अमृत तिमल्सिनालाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार प्रसाद घिमिरेले जानकारी दिए ।

पूर्व शिक्षक प्रदिप खतिवडाले आफ्ना माता ढकमाया खतिवडाको स्मृतिमा स्थापित कक्षा १२ सर्वोत्कृष्ट विद्यार्थी पुरस्कार प्रकाश थोकरलाई नगद ५ हजारसहित सम्मान गरिएको थियो ।

वार्षिकोत्सवकै अवसरमा आयोजित अतिरिक्त क्रियाकलाप अन्तर्गत विविध खेलकुद प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा राना तिमल्सिना लगायतले पुरस्कार वितरण गरेका थिए ।

२०६६ सालमा विद्यालयले आयोजना गरेको सप्ताह ज्ञान महायज्ञमा १० हजार रुपैयाँ भन्दा माथि चन्दादान गर्ने चन्दादाता, जग्गादाता, अक्षयकोषदाताहरुको नाम उल्लेखित शिलालेख गाउँपालिका अध्यक्ष अधिकारीले अनावरण गरे ।

गाउँपालिका अध्यक्ष अधिकारीले व्यक्ति विकासको प्रमुख आधार शिक्षा भएको तर्क गरे ।

उपाध्यक्ष तारा राना तिमल्सिनाले सामुदायिक विद्यालयमा विद्यार्थी घटनुमा शिक्षा क्षेत्रका नकारात्मक पक्षहरु धेरै जिम्मेवार भएकाले आफ्ना छोराछोरी नीजिमा पठाएर राजनीतिका लागि सामुदायिक विद्यालय जाने परिपाटीको अन्त्य नभएसम्म शिक्षामा परिवर्तन आउन कठिन हुने तर्क गरिन् ।

गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले मानव विकास, सुशासन, आर्थिक, भौतिक, सामाजिक विकास र खुशीपनका मानकहरुलाई माथि लैजान शिक्षामा दिगो लगानी गर्दै जानुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस