बेथानचोकको लक्ष्मी नारायण मन्दिरमा मंसिर २३ देखि श्रीमद् भागवत सप्ताह

नौलो समाचार संवाददाता
२०८३ मंसिर ६, शनिबार मा प्रकाशित ७१ पटक पढिएको

बेथानचोकको लक्ष्मी नारायण मन्दिरमा मंसिर २३ देखि श्रीमद् भागवत सप्ताह

बेथानचोक /  बेथानचोक गाउँपालिका वडा नं ३ स्थित लक्ष्मी नारायण मन्दिर परिसरमा मसिंर २३ गतेदेखि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।

मन्दिरको लागि जग्गा खरिद, गुरुकुल निर्माण, धार्मिक वाटिका निर्माण लगायतका सर्वाङ्गीण विकासका लागि लक्ष्मी नारायण मन्दिर व्यवस्थापन समितिको आयोजनामा मंसिर २९ गतेसम्म कथा प्रवचन, पाठ पारायणसहित ज्ञान महायज्ञ हुन लागेको हो ।

आयोजक समितिले शनिवार पत्रकार सम्मेलन गर्दै मंसिर २३ गते कलशयात्रासहित कार्यक्रम उद्दघाटन हुने जानकारी दियो । समितिका सचिव वेदप्रसाद तिमिल्सनाका अनुसार, २३ गते उद्दघाटनपछि हरेक दिन भागवत पाठ पारायण, कथा प्रवचन, हवन र भजनकिर्तन हुनेछ । १००८ स्वामी चक्रपाणी आचार्य प्रमुख वाचक रहनेछन् ।

मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष पूर्णप्रसाद अधिकारीले २०७३ सालदेखि नियमित रुपमा सो स्थानमा एकादशी महात्मय लगाएको र सो क्षेत्रमा धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पूर्वाधार निर्माणको उद्देश्यले महायज्ञ गर्न लागिएको बताए ।

गाउँपालिका अध्यक्ष भगवान अधिकारीले सो क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउनको लागि गाउँपालिकाले सुरुवाती दिन देखि नै सहयोग गरेको भन्दै पूर्वाधार विकासको लागि प्रदेश समेतको सहकार्यमा हालसम्म ७ करोड ६५ लाख खर्च भएको बताए । विपद्ले प्रताडित गाउँपालिकाले स्थानीयमा उर्जा भर्नको लागि धार्मिक पर्यटकीय पूर्वाधारमा लगानी गरेको भन्दै स्थानीयको काममा सधै सहयोग गर्न तयार रहेको बताए ।

गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले धार्मिक सहिसुष्णता, एकता कायम गर्न गाउँपालिका विभिन्न सहयोग गरिरहेको बताइन् ।

३ नं वडा अध्यक्ष कुवेर ढकाल, मन्दिर संरक्षण समितिका उपाध्यक्ष कुमार घिमिरे लगायतले धार्मिक पूर्वाधार निर्माणले सो क्षेत्रमा पर्यटकीय र धार्मिक गतिविधी बढ्ने विश्वास लिए ।

नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपानले सनातन धर्मको संरक्षण र गुरुकुल निर्माणमा समितिले गरेको सक्रियताको प्रशंसा गर्दै सञ्चार क्षेत्रको सहयोग रहने प्रतिवद्धता जनाए । पूर्व अध्यक्ष मोतिराम तिमल्सिनाले गाउँपालिकाले सबै क्षेत्रलाई उत्तिकै महत्व दिएर सामाजिक विकासमा योगदान दिएको बताए ।






प्रतिक्रिया दिनुहोस


↑