विद्यालयको बार्षिकोत्सवमा ‘हाटबजार’

नौलो समाचार संवाददाता
२०८० माघ २९, सोमबार मा प्रकाशित ५६२ पटक पढिएको
विद्यालयको बार्षिकोत्सवमा ‘हाटबजार’

भकुण्डेवेशी /  विद्यालयको बार्षिकोत्सव समारोहमा के हुन्छ ? बर्षभरी उत्कृष्ट नतिजा ल्याउने विद्याथीलाई पुरस्कार, अतिथीहरुको मन्तव्य, विद्यार्थीहरुको प्रतिभा प्रस्तुत लगायतका कृयाकलाप । हामीले सोच्ने र देख्दै आएको कृयाकलाप यस्तै हो ।

तर, नमोबुद्ध नगरपालिका वडा नं ४ स्थित जनक माध्यमिक विद्यालयले बार्षिकोत्सवको अवसरमा पुरस्कार वितरण, सांस्कृतिक कार्यक्रमका अलावा हाटबजार र शैक्षिक प्रदर्शनी गरेको छ । ५१ औं बार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा उनीहरुले हाट बजार राखेका थिए ।

हाट बजारमा ताजा तरकारीका अलावा बदाम, फलफुल, अचार लगायतका परिकार र विद्यालयले पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत पालेका खसीबोका, कुखुरा लगायत विक्रीका लागि राखिएको थियो । विद्यालयमा होटल व्यवस्थापन अध्ययनरत विद्यार्थीहरुले विभिन्न परिकारसहितको फुड स्टल राखेका थिए ।

नमोबुद्ध नगरप्रमुख कुनसाङ लामासहितका अतिथी, छिमेकी विद्यालयबाट आएका शिक्षक, विद्यार्थीहरुले स्टल भ्रमण गरी खाजा किनेर खाए । विद्यार्थीहरुले विभिन्न शैक्षिक सामाग्री समेत प्रदर्शन गरेका थिए ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत जनक माविमा २०७८ चैत्रदेखि ‘पढ्दै कमाउदै कार्यक्रम’ लागू छ । विद्यालय संयोजक हरिहर अधिकारीका अनुसार, कार्यक्रम अन्तर्गत बाख्रापालन, मौरीपालन, अदुवाखेती, कुखुरापालन गरिएको छ ।

विद्यालयका गतिविधीबारे जानकारी गराउन पाउने र आम्दानी समेत हुने भएकोले यस्ता कृयाकलाप गरेको उनले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस