लैंगिक संवेदनशिलता ध्यान दिनुपर्नेमा जोड

नौलो समाचार संवाददाता
२०८० फागुन १८, शुक्रबार मा प्रकाशित ८४ पटक पढिएको
लैंगिक संवेदनशिलता ध्यान दिनुपर्नेमा जोड

धुलिखेल /  जनप्रतिनिधी, कर्मचारी, मानवअधिकार रक्षकहरुले लैंगिक संवेदनशिलता जोड दिनुपर्ने बताएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगले धुलिखेलमा आयोजना गरेको ‘लैंगिक संवेदनशिलता विषयमा सरोकारवाला निकायको भूमिका’ बिषयक अन्तरक्रियामा सहभागी जनप्रतिनिधी, कर्मचारी, मानवअधिकार रक्षकहरुले काभ्रेका स्थानीय तह, सरकारी निकाय र समुदायमा लैंगिक संवेदनशीलता पर्याप्त नभएको भन्दै त्यसमा सुधार गर्नुपर्ने बताए ।

पनौती नगर उपप्रमुख गिता बञ्जाराले स्थानीय तहहरु पर्याप्त मात्रामा लैंगिक संवेदनशील हुन नसकेको स्विकार्दैै केही प्रयासहरु भने भएको बताइन् । उनले महिलाहरु अधिकार माग्न सक्ने भएपनि कहाँ गएर न्यान माग्ने भन्नेमा अन्यौल रहेको बताइन् ।

पाँचखाल नगर उपप्रमुख सुर्यमाया दनुवारले सचेतना गराउँदा गराउँदै पनि हिंसाका घटना भइरहेकाले किन सचेतना आवस्यक भएको भन्ने प्रश्न उठ्ने गरेपनि नगरपालिकाले लंैगिक समावेशीकरण रणनीति पारित गरेर लैंगिक हिंसा निवारण कोष समेत स्थापना गरेको जानकारी दिइन् ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले लैंगिक हिंसाका घटना बढिरहेको भन्दै कानून भन्दा पनि रुढीवादी परम्परा, सोच बलियो बन्दा समस्या भएको बताइन् ।

अधिकारकर्मी कृष्णप्यारी नकर्मीले राजनीतिक दलले संविधानको समेत गलत व्याख्या र प्रयोग गरेका कारण काभ्रेका धेरै स्थानीय तहका प्रमुख/ उपप्रमुख पदमा महिला सहभागिता नभएको बताइन् । स्थानीय तहले लैंगिक उत्तरदायी बजेट समेत निर्माण गर्न नसकेको बताइन् । बौद्धिक अपांगता भएका व्यक्ति बढी हिंसामा पर्ने गरेको भन्दै उनले उनीहरुको लागि विशेष व्यवस्था हुनुपर्ने बताइन् ।

सहप्राध्यापक इश्वरी ओझाले उपत्यकासंग जोडिएको जिल्ला काभ्रे सुगम देखिएपनि धेरै विकट क्षेत्र भएकोले हिंसाका घटनामा कमि नआएको बताए ।

नेपाल पत्रकार महासंघ काभ्रे शाखाको उपाध्यक्ष एवं सञ्चारिक समुह काभ्रेका अध्यक्ष सुनिता सापकोटाले महिलाहरुको न्यायमा अझै पहुँच नभएको भन्दै सञ्चार क्षेत्रले भूमिका खेल्ने प्रतिवद्धता जनाइन् ।

जिल्ला अदालत काभ्रेका अधिकृत हिराकुमारी भण्डारीले हिंसाका घटना कमै मात्र अदालत आइपुग्ने भन्दै कानून र व्यवहारमा भएको अन्तर कम गर्नुपर्ने बताइन् ।

नमोबुद्ध नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक उपशाखा प्रमुख तारादेवी सुनुवारले लंैगिक समावेशीकरण रणनीति पारित गर्नुका साथै लैंगिक हिंसा निवारण कोष समेत स्थापना भएको जानकारी दिँदै हिंसापीडित महिलाको लागि १५ हजार रकम उपलव्ध गराउने जानकारी दिइन् ।

बनेपा नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखामा कार्यरत सपना ओलीले लैंगिक संवदेनशीलताको लागि नगरपालिकाले पर्याप्त कार्यक्रम र बजेट बिनियोजन गरेको बताइन् ।

माइती नेपालमा कार्यरत गायत्री गौतमले घरमा र विद्यालयमा नै बालिका असुरक्षित भएको भन्दै सचेतनाका कार्यक्रम लिएर वास्तविक पीडितकोमा पुग्नुपर्ने बताइन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेको महिला, बालबालिका तथा जेष्ठ नागरिक सहायता कक्षमा कार्यरत प्रहरी सहायक निरिक्षक कल्पना लामाले श्रीमान्बाट पीडित महिलाका घटना धेरै भएको जानकारी दिइन् ।

धुलिखेल अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रमा कार्यरत संगिता सुर्खेतीले चालु आर्थिक बर्षको हालसम्मको अवधीमा १ सय ५० जनालाई सेवा दिइसकेको बताइन् ।

आदर्श विद्या मन्दिर बनेपामा अध्ययनरत दीक्षा सापकोटाले न्यायको लागि पीडितले आँट गर्नुपर्ने बताइन् ।

कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय मानव अधिकार आयोगका मानवअधिकार अधिकृत रेगम महर्जनले लैंगिक समावेशिताको लागि सोच, व्यवहार परिवर्तनका साथै भाषाको पनि महत्वपूर्ण भूमिका हुने बताइन् ।

काभ्रे जिल्लाको मानवअधिकारको अवस्थाबारे कार्यपत्र प्र्रस्तुत गर्दै मानवअधिकार रक्षक भोजराज तिमल्सिनाले स्थानीय तहमा रहेका न्यायिक समितिमा भन्दा हिंसापीडित महिलाले प्रहरी, प्रशासनमा उजुरी दिने गरेको पाइएको बताए । केही स्थानीय तह लैंगिक संवेदनशील भएको भन्दै उनले हिंसा पीडित महिलाको लागि कोषको समेत व्यवस्था गरेको बताए । उनले मनोसामाजिक परामर्श दिनुपर्नेमा जोड दिए


प्रतिक्रिया दिनुहोस