रोशी-१० मा अनिवार्य तथा निःशुल्क शिक्षा लागू

नौलो समाचार संवाददाता
२०८१ बैशाख १३, बिहिबार मा प्रकाशित १६३ पटक पढिएको
रोशी-१० मा अनिवार्य तथा निःशुल्क शिक्षा लागू

रोशी । रोशी गाउँपालिका वडा नं. १० मा अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको छ ।

वडा नं. १० भित्र रहेका ५ वटा विद्यालयबाट समुदायमा सर्वेक्षण गरि सबै बालबालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको यकिन गरिएको थियो ।  सो वडाको ५ सय ४९ घरधुरीमा ६ सय ३५ बालबालिका रहेकोमा सबै विद्यालय जाने गरेको सर्वोक्षणले देखाएको छ । जसमा ४ देखि १३ बर्षसम्मका ४६७ जना र ० देखि ४ बर्षसम्मका १६८ जना बालबालिका छन् ।
४ बर्षदेखि १३ बर्षसम्मका बालबालिकालाई आधारभूत शिक्षा अनिवार्य र निशुल्क गर्नुपर्ने व्यवस्था छ ।

बुधबार गाउँपालिका अध्यक्ष दिनेश लामाले एक कार्यक्रममा उक्त घोषणा गर्दै संविधानमा भएको व्यवस्था लागु भएको बताए । उनले शिक्षा ऐनमा भएको व्यवस्था बमोजिम सरकार र अभिभावकको छुट्टाछुट्टै भुमिका हुने बताए । विद्यालयहरुलाई कुनै पनि शिर्षकमा पैसा नलिन पनि उनले विद्यालयहरुलाई अनुरोध गरे । गाउँपालिकाका सबै वडामा क्रमशः घोषणा गर्ने उनले बताए ।

गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइबाले रोशीको कुनैपनि बालबालिका विद्यालय बाहिर हुन नहुने बताए । कुनै पनि बहानामा बालबालिकालाई घरमा नरोक्न उनले अनुरोध गरे ।

प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङका अनुसार २०७६ सालदेखि २०८५ सालसम्ममा शिक्षालाई सवलीकरण गर्नको लागि नेपाल सरकारले सार्वजनिक शिक्षा सवलीकरण दर्शन घोषणा गरेको छ । अनिवार्य तथा निःशुल्क शिक्षाको संवैधानिकव्यवस्था रहेको उनले बताए ।

अनिवार्य तथा निःशुल्क शिक्षा लागुभएपछि पनि अभिभावकले आफ्नो बालबालिकालाई आधारभूत शिक्षा प्रदान नगरेमा राज्यबाट पाउने सेवा सुविधा (नागरिकता, राष्ट्रिय परिचयपत्र, सामाजिक सुरक्षा परिचयपत्र) नपाउने प्रमुख प्रशासकिय अधिकृत तामाङले बताए ।

अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यान्वयनका लागि नेपाल सरकारले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५, अनिवार्य तथा निःशुल्क शिक्षा नियमावली २०७७ र राष्ट्रिय शिक्षा नीति २०७६ स्वीकृत गरेको छ । गाउँपालिकाले पनि शिक्षा नीति २०८० पारित गरेको छ ।

कार्यक्रममा गाउँपालिका शिक्षा शाखा अधिकृत भिम भट्टराई, पूर्व वडाध्यक्ष तथा नेपाली कांग्रेस रोशी गाउँपालिका समितिका सभापति दुधराज लामा लगायतले अनिवार्य तथा निःशुल्क शिक्षा आजको आवश्यकता भएको बताए ।

वडा नं. १० का वडाध्यक्ष विकेन लामाको सभापतित्वमा भएको कार्यक्रममा रोशी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, अविभावक, विद्यालयका प्रधानाध्यापक, राजनीतिक दलका प्रतिनिधि, बाल क्लवका प्रतिनिधिहरू लगायत शिक्षामा सरोकार राख्ने व्यक्तिहरूको उपस्थिती थियो । सवैले घोषणामा हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया दिनुहोस