६ सय किलोमिटर पार गरेर विद्यालयलाई सहयोग

नौलो समाचार संवाददाता
२०८१ बैशाख २४, सोमबार मा प्रकाशित ६९ पटक पढिएको
६ सय किलोमिटर पार गरेर विद्यालयलाई सहयोग

काभ्रे /  काभ्रे र भक्तपुरका युवाहरुले करिब ६ सय किलोमिटर दुरी पार गरेर संखुवासभाका जिल्लाको खाँदबारी नगरपालिका वडा नं ३ मा रहेको एक विद्यालयलाई सहयोग गरेका छन् ।

सिमान्तकृत समुदायका विद्यार्थी पढ्ने सो स्थानका लक्ष्मी आधारभूत विद्यालयका ३ सय ७६ विद्यार्थीलाई स्टेशनरी, पुस्तक, पिङ र लगायत खेलकुदका सामानसहित ५ लाख बराबरको सामाग्री हस्तान्तरण गरिएको हो ।

खाँदबारीका शुसिलजङ्ग कार्की र शिक्षक वेदराज घिमिरेले विद्यालयको समस्या सुनाएपछि भक्तपुरका रोशन केसी, नमोबुद्ध नगरपालिकाका परीक्षण हुँमागाई, बेथानचोक गाउँपालिकाका सुरज श्रेष्ठसहितको टोली सहयोग सामाग्री लिएर पुगेको थियो ।

कक्षा ६ देखि ८ सम्मका १ सय ४० जना विद्यार्थीलाई ट्रयाक सुट, फलामको पिङसँगै कम्युटर तीन सेट, क्यामरबोर्ड तीन सेट, बल, नेट, व्याटमिन्टन, चार्टसहितका सामाग्री हस्तान्तरण गरेको परिक्षणले जानकारी दिए । सामाग्री संकलनमा भुमिका निर्वाह गरेका ईश्वर लामिछाने र राजकुमार कोइरालाको उपस्थितीमा हस्तान्तरण गरिएको हो । विद्यालयमा अत्यावश्यक औषधि र तत्कालका लागि खाजा र बिस्कुट समेत व्यवस्थापन गरिएको थियो ।

लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वरका अध्यक्ष रामप्रसाद (आरडी) ढकाल, भकुण्डेका युवा व्यवसायी विकास खनाल, पाँचखाल खावाका महिला उद्यमी मनिषा श्रेष्ठ र रश्मी रंजितकार, काठमाडौंका लक्ष्मी श्रेष्ठ, अस्मिना गिरी, सन्तोषी दीक्षित खनाल, स्वास्थ्यकर्मी सुरक्षा श्रेष्ठ, संचारकर्मी मणिराम दाहाल र अरबिन्द्र गौतमसँगै कुक प्रशिक्षक मोहन गजुरेल, भुम्लु गाउँपालिकाको पूर्व उपाध्यक्ष कल्पना कुमारी श्रेष्ठ, आर्शु स्मृति प्रतिष्ठानका रुपेश काफ्ले, बर्दी तिमल्सिना, नेपाली कांग्रेसका नेता सुधिर वैद्य र संगम थापाको सहयोगमा युवाहरुले सामाग्री जुटाएका थिए ।

शैक्षिक तथा अतिरिक्त कृयाकलाप सञ्चालन गर्न सामाग्री सहयोग भएपछि विद्यालयमा शैक्षणिक गतिविधी सञ्चालन गर्न सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक युवराज खत्रीले बताए ।

नगर उपप्रमुख महेश्वरा बज्राचार्यले आफ्नो स्थानीय तहमा शैक्षिक अवस्था सुधार्न युवाहरुले गरेको सहयोगको प्रशंसा गरिन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिता कटुवाल कार्कीले सो सामाग्रीले पढाईको स्तर उकास्न भुमिका खेल्ने विश्वास व्यक्त गरिन् ।

विद्यार्थी सोनिका तामाङले सहयोगले अध्ययनमा थप मनोवल बढ्ने उनले बताइन् ।

युवाको सो समूहले विविध सामाजिक कार्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस