पूर्णस्तनपानको दर शिक्षितमा भन्दा अशिक्षितमा बढी

नौलो समाचार संवाददाता
२०८१ श्रावण २३, बुधबार मा प्रकाशित २८६ पटक पढिएको
पूर्णस्तनपानको दर शिक्षितमा भन्दा अशिक्षितमा बढी

बच्चाहरूको लागि, स्तनपान पहिलो खोप हो । नेपालमा स्तनपान सप्ताहको सफलताले मातृ स्वास्थ्यमा सुधार र शिशुहरूको सामान्य विकासमा ठूलो सहयोग पुग्न सक्छ । यसले समग्र समाजलाई समृद्धि, स्वास्थ्य र सशक्तिकरणको दिशामा मार्गदर्शन गर्नेछ।अमृत समान मानिने आमाको दुधमा रहेका प्रतिरोधात्मक तत्वले शिशुको रोगसँग लड्ने क्षमता बढाउनुको साथै कुपोषण, मोटोपन, मधुमेह, झाडापखाला, श्वासप्रश्वास जस्ता रोगहरुको सम्भावना घटाई शिशुहरुको बौद्धिक क्षमता राम्रो हुने अनुसन्धानले देखाएको छ । नवशिशुलाई जन्मेको १ घण्टा भित्रै आमाको दूध खुवाउँदा ३३ प्रतिशत मृत्यु रोक्न सकिने विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको छ।

नेपालको संविधान २०७२ (धारा ३६), राष्ट्रिय पोषण रणनीति २०७७, राष्ट्रिय स्वास्थ्य नीति २०७६, नेपालको पन्ध्रौं योजना (२०७६/७७-२०८०/८१), नेपाल स्वास्थ्य क्षेत्र रणनीति (२०७९/८०-२०८७/८८) तथा जनस्वास्थ्य सेवा ऐन (२०७५) ले समेत खाद्य सुरक्षा र पोषणलाई प्राथमिकतामा राखेको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार सरकारी, गैरसरकारी वा निजी संघ संस्थामा कार्यरत महिलालाई ९८ दिनको तलब सहितको प्रसूति बिदा दिइन्छ र आवश्यक परेमा एक बर्षसम्मको बेतलबी बिदा पाउने व्यवस्था छ । त्यसैगरी, जटिल शल्यक्रिया गर्नुपरेको अवस्थामा ३० दिनसम्म तलब सहितको बिदा पनि उपलब्ध गराइने व्यवस्था छ ।

सन् १९९२ देखि हरेक वर्ष, स्तनपानलाई प्रोत्साहन र सम्बर्द्धन गर्न विश्व स्तनपान सप्ताह मनाउदै आइरहेको अवस्थामा यस वर्ष पनि श्रावण १७ देखि २३ गतेसम्म “स्तनपानमा समानताः सबैको सहयोग र सहभागिता” भन्ने नाराका साथ यो दिवस मनाइँदैछ ।

स्तनपानको मुल मन्त्र – 3E

E= Early (सकेसम्म छिटो शुरुवात — शिशु जन्मेको १ घण्टा भित्र स्तनपान गराऔं)

E= Exclusive (पुर्ण स्तनपान — ६ महिना पुरा नभएसम्म शिशुलाई आमाको दुधमात्रै चुसाऔं अरु खानेकुरा वा पानी पनि नदिऔं)

E=Extended (बच्चा ६ महिना पुरा भए पछि थप पौष्टिक आहार सहित कम्तिमा २ वर्ष वा सो भन्दा बढि समय सम्म बच्चालाई स्तनपान भने गराई राखौ)

स्तनपानलाई संरक्षण र सम्बर्द्धन गर्न हरेक स्थानीय तहमा,सेवाग्राहीको भिडभाड हुने सार्वजनिक स्थलमा (विमानस्थल, सरकारी कार्यालय, बसपार्क आदि)मा स्तनपान कक्षको स्थापना  कार्य विस्तार हुँदैछ । अस्पतालहरुलाई बट्टाको दूधलाई निरुत्साहित गर्न आमा तथा शिशुमैत्री अस्पतालको रुपमा विकास हुदैछ । परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल, थापाथलीमा स्तनपान व्यवस्थापन केन्द्र (Comprehensive Lactational Management Center) स्थापना भएको र प्रत्येक प्रदेशमा कम्तिमा एउटा स्तनपान व्यवस्थापन इकाई (Lactational Management Unit ) हुने गरि स्थापना गरिदैछ । आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ तथा नियमावली, २०५१ अनुसार कुनै पनि आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको दान, प्रर्वद्धन, बजारीकरण तथा वितरण गर्न रोक लगाएको छ ।

नेपालमा शिशुलाई पूर्ण स्तनपान गराउनेको संख्या ५६ प्रतिशत छ भने जन्मेको १ घण्टा भित्रै स्तनपान गराउनेको संख्या ५५ प्रतिशत रहेको छ । कर्णाली र सुदूरपश्चिममा पूर्ण स्तनपानको दर सबैभन्दा उच्च ७४ प्रतिशत छ भने लुम्बिनीमा यो दर ३६ प्रतिशतले सबैभन्दा कम छ । माध्यामिक तहभन्दा बढी शिक्षा लिएका आमाहरुमा पूर्ण स्तनपानको दर कम देखिएको छ। साथै, न्यून आय भएका परिवारका ६४ प्रतिशत आमाहरुले पूर्ण स्तनपान गराउँदा उच्च आय भएका परिवारका केवल ४४ प्रतिशत आमाहरुले मात्र पूर्ण स्तनपान गराएको पाइएको छ । बागमती प्रदेशमा सबैभन्दा धेरै (४३ प्रतिशत) शिशुहरूले बोतलपान गरेका छन् भने कर्णाली प्रदेशमा सबैभन्दा कम (११ प्रतिशत) मात्र शिशुहरूले बोतलपान गरेका छन्।संसारभरि हुने बाल मृत्युदरको ४५ प्रतिशत कारण कुपोषण रहेको पाइएको छ । सबै प्रकारको कुपोषण न्यूनीकरणमा स्तनपानको महत्वपूर्ण भूमिका हुन्छ (श्रोत : नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२) । गत आ.ब. मा काभ्रेपलान्चोक जिल्लामा ६ महिनासम्म पूर्ण स्तनपान गराउनेको संख्या ६६% छ भने नबोबुद्ध नगरपालिकामा सबैभन्दा धेरै ९९% पूर्ण स्तनपानको संख्या रहेको छ।

महिला ससक्तिकरणसंगै सुधार हुदै गइराखेको शैक्षिक अवस्था र रोजगारीले गर्दा सहरी भागमा विशेषगरि बोतलपानको संख्या बढ्दै र पूर्णस्तनपान घट्दै गैराखेको तथ्यांकले निर्दिस्ट गर्छ । यो अहिले प्रमुख चुनौतिको रुपमा देखापरेको छ । यसर्थ, सबै समुदाय, समाज, स्वास्थ्य संस्था, परिवार, साथीभाई, कार्यस्थल, स्वास्थ्यकर्मी, नीति निर्माताले “स्तनपानमा समानताः सबैको सहयोग र सहभागिता” भन्ने नारा वा सन्देशले स्तनपानलाई जहिले र जहाँ पनि बढावा दिन सबैले मिलेर सहज र सम्भव बनाउन सकिन्छ भन्ने कुरामा जोड दिएको छ। यसले शिशुको स्वास्थ्य, आमाको स्वास्थ्य र समाजको समग्र कल्याणका लागि महत्वपूर्ण योगदान पुर्याउँछ । सबैको सहयोग र सक्रिय सहभागिताले मात्र स्तनपानमा समानता स्थापित गर्न सकिन्छ।काभ्रेपलान्चोक जिल्ला र स्थानीय तहमा समेत स्तनपान सप्ताह महिला स्वास्थ्य स्वयमं सेविकासंग अन्तरक्रिया, जनचेतनामुलक कार्यक्रम लगाएत विभिन्न क्रियाकलाप गर्दै मनाइदैछ ।

प्रतिक्रिया दिनुहोस