शिर मेमोरियल अस्पतालमा बहिरंग विभागको नयाँ भवन उद्दघाटन 

नौलो समाचार संवाददाता
२०८३ मंसिर ३, बुधबार मा प्रकाशित १११ पटक पढिएको

शिर मेमोरियल अस्पतालमा बहिरंग विभागको नयाँ भवन उद्दघाटन 

बनेपा / शिर मेमोरियल एडभेन्टिष्ट अस्पतालमा निर्माण भएको बहिरंग विभागको नयाँ भवन उद्दघाटन गरिएको छ ।

बनेपाका ८१ वर्षीय राजभाई प्रधानको व्यक्तिगत खर्चमा २८ हजार वर्गफिटमा बनेको ४ तले बहिरंग विभागको भवन बुधबार एक कार्यक्रम विच बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले उद्दघाटन गरेका हुन् । अस्पतालमा शुरु गरिएको हेमोडाइलासिस वार्ड पनि मुख्यमन्त्री थापामगरले उद्दघाटन गरेका छन् ।

२०८१ कार्तिक २१ गते २ तला भनेर निर्माण थालिएको भएपनि अस्पतालको लागि अपर्याप्त हुने देखेपछि थप २ तला निर्माणको लागि प्रधानले सहयोग थप गरेका थिए । २०८३ भाद्र १० गते प्रधानकै जन्मदिनको सन्दर्भ पारेर भवन अस्पताललाई हस्तान्तरण गरिसकिएको छ ।

बनेपा स्थायी घर भई हाल ललितपुरको बागडोल बस्दै आएका प्रधानले समाजलाई केही योगदान दिनुपर्छ भनेर अस्पतालको सेवा विस्तारको लागि भवन निर्माणलाई सहयोग गरेको बताए । शिक्षा, स्वास्थ्य क्षेत्रको लागि सहयोग गर्दै आएका प्रधानले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल), कोटेश्वर, कुलेश्वर लगायतका क्षेत्रमा सामाजिक कार्य गर्दै आएका छन् ।

भवन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री थापाले शीर मेमोरियल अस्पतालमा क्यान्सर रोग उपचारको लागि रेडिएसन मेशिन जडानको लागि प्रदेश सरकारले २ करोड रुपैयाँ विनियोजन गरेको बताउँदै काभ्रेपलाञ्चोक र आसपासका प्रभावित लाभान्वित हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रतिनिधी सभा सदस्य बदनकुमार भण्डारी, बागमती प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे श्रेष्ठ, लक्ष्मण लम्साल, रत्न ढकाल, जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक गौतम, बनेपा नगरपालिकाका प्रमुख शान्तीरत्न शाक्य, वडा नं ५ का अध्यक्ष बलराम अधिकारी लगायतले दाता प्रधानको भावनाको सम्मान गर्दै आफ्‌नो तर्फबाट अस्पताललाई सहयोग गर्ने प्रतिवद्धता बनाए ।

अस्पतालका मेडिकल निर्देशक डा. एञ्जेला बस्नेतले सरकार, समाज र दाताहरुको सहयोगले नै अस्पतालले क्रमिक रुपमा सेवा विस्तार गर्न सकेको बताउँदै अस्पतालको तर्फबाट आभार प्रकट गरिन् । प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रभा शाक्यले ६६ बर्षदेखि सेवा दिइरहेको अस्पतालमा थप भएका संरचनाले यहाँको सेवा व्यवस्थित, सहज, सुरक्षित र अझ गुणस्तरीय हुने विश्वास व्यक्त गरिन् ।






प्रतिक्रिया दिनुहोस


↑