नेपालमा नै पहिलोपटक हुने विश्व युवा महोत्सव काभ्रेको धुलिखेलमा

नौलो समाचार संवाददाता
२०८१ कार्तिक १६, शुक्रबार मा प्रकाशित १९४ पटक पढिएको
नेपालमा नै पहिलोपटक हुने विश्व युवा महोत्सव काभ्रेको धुलिखेलमा
विश्व युवा महोत्सव नेपाल २०२५ को वेवसाइट सार्वजनिक गर्दै जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम र प्राविधिक साझेदार सनबिका प्रतिनिधीहरु ।

धुलिखेल / नेपालमा नै ‘पहिलो पटक’ हुने भनिएको विश्व युवा महोत्सव काभ्रेको धुलिखेलमा हुने भएको छ ।

सन् २०२५ को मार्च २७ देखि ३१ सम्म हुने प्रस्ताव गरिएको महोत्सवमा १ सय ५० भन्दा बढी देशबाट करिब १० हजार युवा सहभागी हुने आयोजक जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले जानकारी दिए । ती देशका विभिन्न विश्वविद्यालय, युवा सञ्जाल, अन्तराष्ट्रिय गैरसरकारी संस्थाका कार्यरत युवाहरु सहभागी हुनेछन् । उनका अनुसार, विश्वभर युवाका सवालमा छलफल हुने महोत्सव ३ लाख भन्दा बढीले अवलोकन गर्ने अपेक्षा छ ।

‘सबै देशका युवा सवालका साथै कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, रोजगारी, संस्कृति, आयआर्जन लगायत विषयमा बारेमा कार्यपत्र, बहस, अन्तरक्रिया, विज्ञ छलफल हुनेछ, ’ जिल्ला समन्वय समिति काभ्रेका प्रमुख गौतमले भने, ‘यो सिक्ने, सिकाउने एउटा मञ्चको रुपमा रहनेछ, बढ्दो विदेश पलायन रोक्न, निराशामा रहेकालाई आशा जगाउन यो महोत्सव फलदायी हुने हामीले विश्वास लिएका छौं ।’ काभ्रेलाई विश्व सामु चिनाउने र युवाहरुबीच अनुभव र ज्ञानआदानप्रदानसंगै समस्या समाधानका उपायसमेत पहिचान हुने उनले दाबी गरे ।

महोत्सवमा जीवनशैली र स्वास्थ्य, शैक्षिक नवप्रवर्तन र पहुँच, रोजगारी र उद्यमशीलता, डिजिटल साक्षरता र साइबर सुरक्षा, सास्कृतिक आदानप्रदान र संवाद, विश्वव्यापी सञ्जाल र वैदेशिक अवसर, युवा, राजनीति र कानूनी शसक्तिकरण, मानवअधिकार र वकालत, सुशासनमा नागरिक र युवा सहभागिता, पारदर्शिता, लगानी, उद्यमशीलता, स्टार्टअप, खेलकुद र शारिरिक तन्दुरुस्ती, वातावरणीय दिगोपना, समावेशीता, कृषि तथा खाद्य सुरक्षा, स्वास्थ्य, पर्यटन र सम्पदा संरक्षण, मिडिया साक्षरता र जिम्मेवार पत्रकारिता, विपद तयारी र प्रतिकार्य, वित्तिय साक्षरता, रेमिट्न्यान्स र वित्तिय समावेशीता, प्रविधिका नवप्रवर्तन, महिला शसक्तिकरण र लैंगिक समानतासहितका बिषयमा कार्यशाला, सेमिनार, अन्तरक्रिया, प्रदर्शनी, भ्रमण, सामुदायिक गतिविधीहरु हुनेछन् । २ सय भन्दा बढी विज्ञहरुले ती विषयमा कार्यपत्रका साथै प्यानल छलफल गराउनेछन् ।

धुलिखेलमा हुने उद्धघाटन पश्चात काभ्रेका विभिन्न स्थानमा र उपत्यकामा समेत समानान्तर रुपमा कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ । यसविच, महोत्सवका लागि तयार गरिएको वेबसाइट सार्वजनिक गरिएको छ । http://www.wyf2025nepal.com नामक वेवसाइटमा महोत्सवबारे सम्पूर्ण जानकारी राखिएको छ । वेवसाइटमार्फत नै प्रतिव्यक्ति ३ हजार शुल्क तिरेर नाम दर्ता गर्न सकिने व्यवस्था मिलाइएको छ । महोत्सवको छुट्टै एप पनि तयारी रहेको महोत्सवको प्राविधिक साझेदार सनबिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस