कानपुर / नमोबुद्ध नगरपालिका वडा नं ५, कानपुरमा रहेको प्रहरी चौकी शिखरपुर (कानपुर) को नवनिर्मित भवन उद्दघाटन गरिएको छ ।
सोमबार आयोजित एक कार्यक्रमविच बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायब महानिरिक्षक कृष्णहरी शर्माले त्यहाँ निर्मित कार्यालय, ब्यारेक, शौचालय, ब्यारेकसहितका संरचना उद्दघाटन गरेका हुन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा भौतिक पूर्वाधार शाखा प्रमुख रहेका प्रहरी नायब उपरिक्षक ई. शम्भुप्रसाद कोइरीका अनुसार, नेपाल प्रहरीको नियमित बजेटबाट २ करोड ७१ लाख ०९ हजार ५ सय ३१ रुपैयाँको लागतमा बनेको भवनमा डाइनिङ कक्षसहितको भान्छाघर, कार्यालय, पुरुष र महिला प्रहरीको लागि अलग अलग ब्यारेक, सञ्चार कक्ष, स्नान कक्षसहितको शौचालय, पुरुष र महिलाको लागि अलग अलग हिरासत कक्ष, गार्ड रुमसहितका संरचना निर्माण गरिएका छन् ।
२०५४ साल माघ ६ गते तत्कालिन भीमखोरी गाविसको शिखरपुरमा स्थापना भएको प्रहरी चौकी तत्कालिन सशस्त्र युद्धको कारण विस्थापित भएको थियो । पछि कानपुरमा स्थापना भएको चौकी व्यक्तिको कच्ची घर भाडामा लिएर सञ्चालन हुँदै आएको थियो । २०७९ साल पुष ६ गते सम्झौता भएको प्रहरी चौकी निर्माण २०८१ असोज ५ गते सम्पन्न भएको हो ।
कार्यक्रममा प्रहरी चौकी निर्माणका लागि जग्गा उपलव्ध गराउने स्थानीय कुलमान तामाङ, मानबहादुर तामाङ, नमोबुद्ध नगरपालिका, ५ नं वडा कार्यालय, तेमाल गाउँपालिका, स्थानीय समाजसेवीलाई सम्मान गरिएको थियो भने प्रहरी सहायक निरिक्षक सनकबहादुर मोक्तान, प्रहरी वरिष्ठ हवल्दार सन्तोष नेपाली, प्रहरी सहायक हवल्दार किसान गुरुङ, मिनप्रसाद भट्टराई, मोहमद जुगाड ठकुराई, कृष्ण अर्याल पुरस्कृत भएका थिए ।
प्रहरी चौकी उद्दघाटन गर्दै प्रहरी नायब महानिरिक्षक शर्माले प्रहरीलाई आवश्यक न्यूनतम भौतिक पूर्वाधार पुरा गर्दा प्रहरीको सेवा प्रभावकारिता बृद्धि हुने तर्क गरे । शान्ती सुरक्षामा केन्द्रीत हुदै फरार अपराधी पक्राउ गर्न तत्परता दिने उनले मातहतका सबैलाई निर्देशन दिए ।
नमोबुद्ध नगर प्रमुख कुनसाङ लामाले शान्ती सुरक्षा कायम र अपराध नियन्त्रणमा बिना बर्दीका प्रहरी नागरिकको पनि भूमिका हुने भन्दै सबैले सहयोग गर्नुपर्ने बताए ।
रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले निर्मित संरचनाले नागरिकलाई सर्वसुलभ र प्रभावकारी सेवा प्रवाहमा सहयोग हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष बद्रिराज तिमल्सिना, नमोबुद्ध नगरपालिकाका प्रवक्ता टिकाबहादुर के.सी., जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरिक्षक (एसपी) बसुन्धरा खड्का, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता रहेका प्रहरी नायब उपरिक्षक मिनबहादुर घले लगायतले प्रहरी र नागरिक सम्बन्ध सुदृढ भए अपराध नियन्त्रणसंगै शान्ती सुरक्षा कायम गर्न सहज हुने धारणा राखे ।
प्रतिक्रिया दिनुहोस