विश्व युवा महोत्सवको प्रचार प्रसार गर्न अभिमुखिकरण

नौलो समाचार संवाददाता
२०८१ फागुन ३, शनिबार मा प्रकाशित ७४ पटक पढिएको
विश्व युवा महोत्सवको प्रचार प्रसार गर्न अभिमुखिकरण

धुलिखेल / नेपालमा नै ‘पहिलो पटक’ हुन लागेको विश्व युवा महोत्सवको तयारी स्वरुप सरोकारवालाहरुलाई अभिमुखिकरण गरिएको छ ।

सन् २०२५ को मार्च २७ देखि ३१ सम्म काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय परिसरमा हुने महोत्सवबारे जिल्लाका युवा, विद्यार्थी, युवा जनप्रतिनिधी, शिक्षकसहितका प्रतिनिधीलाई एकैसाथ कार्यक्रममको प्रचार प्रसार गरिएको हो ।

महोत्सवमा १ सय भन्दा बढी देशबाट करिब १० हजार भन्दा बढी युवा प्रतिनिधी र ३ लाख भन्दा बढी सहभागी हुने आयोजक जिल्ला समन्वय समिति काभ्रेको अपेक्षा छ । ती देशका विभिन्न विश्वविद्यालय, युवा सञ्जाल, अन्तराष्ट्रिय गैरसरकारी संस्थाका कार्यरत युवाहरु सहभागी हुनेछन् ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले नेपालमा भएको सम्भावना खोजी गर्न, सबै देशका युवा सवालबारे छलफल, अन्तरक्रिया गरी साझा धारणा बनाउन महोत्सव आयोजना गरिएको बताए । काभ्रेलाई विश्व सामु चिनाउने र युवाहरुबीच अनुभव र ज्ञानआदानप्रदानसंगै समस्या समाधानका उपायसमेत पहिचान हुने उनले दाबी गरे ।

कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, रोजगारी, संस्कृति, आयआर्जन लगायत बिषयमा २ सय भन्दा बढी विज्ञहरुले कार्यपत्र, बहस, अन्तरक्रिया गर्ने कार्यक्रम छ । उद्धघाटन पश्चात काभ्रेका विभिन्न स्थानमा समानान्तर रुपमा कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ ।

धुलिखेलमा हुने उद्धघाटन पश्चात काभ्रेका विभिन्न स्थानमा र उपत्यकामा समेत समानान्तर रुपमा कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतिनिधी सभा सदस्य रहेका पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले युवाको चेतनाले संसार परिर्वतन सम्भव हुने भन्दै युवा महोत्सवजस्ता कार्यक्रम लाभदायी हुने बताए ।

बागमती प्रदेशका पूर्वमन्त्री रहेका प्रदेश सभा सदस्य तीर्थ लामाले युवा महोत्सवले काभ्रे मात्रै नभएर देशले नै फाइदा लिन सक्ने तर्क गरे ।

बागमती प्रदेशका पूर्वमन्त्री रहेका प्रदेश सभा सदस्य रत्न ढकालले युवामा बढ्दो विदेश पलायन र निराशा हटाउन तीन तहकै सरकार अग्रसर हुनुपर्ने बताए ।

कार्यक्रममा मिस ग्लोब २०२४ डायना मोरेनो, जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङ, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपाने, काठमाडौैं विश्वविद्यालयका गोकूल केसी लगायतले युवा महोत्सवका विभिन्न आयामबारे चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस