बी.पी. राजमार्ग पुनर्निर्माण गरिदिन जापानी विदेश राज्यमन्त्रीलाई परराष्ट्रमन्त्री राणाले गरिन् आग्रह

नौलो समाचार संवाददाता
२०८१ फागुन ५, सोमबार मा प्रकाशित २२० पटक पढिएको
बी.पी. राजमार्ग पुनर्निर्माण गरिदिन जापानी विदेश राज्यमन्त्रीलाई परराष्ट्रमन्त्री राणाले गरिन् आग्रह

काठमाडौं / परराष्ट्रमन्त्री आरजु राणा देउवाले गत असोज १० देखि १२ गतेसम्मको अबिरल बर्षापछिको बाढी र पहिरोले क्षतिग्रस्त बी.पी. राजमार्ग पुनर्निर्माण गरिदिन जापानी विदेश राज्यमन्त्री मियाजी ताकुमामार्फत जापान सरकारलाई आग्रह गरेकी छन् ।

सोमबार शिष्टाचार भेटवार्ताका क्रममा मन्त्री राणाले पुनर्निर्माणका क्षेत्रमा सहयोग गरिदिन आग्रह गरेकी हुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपालका लागि जापानी राजदूतमार्फत आग्रह गरेको स्मरण पनि मन्त्री राणाले गराएकी थिइन् ।

आठौं हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहेका परराष्ट्रमन्त्री राणा र जापानी राज्यमन्त्री ताकुमाबीच सोमबार भेटवार्ता भएको थियो । भेटका क्रममा नेपाल जापान सम्बन्धका विविध पक्षहरूका साथै दुई देशबीचको आपसी सम्बन्ध र साझा चासोका विषयमा कुराकानी भएको थियो ।

गत असोजको बाढी र पहिरोका कारण क्षतिग्रस्त राजमार्गका विभिन्न स्थानमा डाइभर्सन बनाएर अस्थायी रुपमा यातायात सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस