धुलिखेल / धुलिखेल नगरपालिकाको रोजगार सेवा केन्द्रले श्रमिकहरुलाई सम्मान गरेको छ ।
अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा बर्षभर उत्कृष्ट काम गर्ने वडा नम्वर १ का दिपेन्द्र मिजार, वडा नम्वर ३ का रीता थापा मगर, वडा नम्वर ४ का पुजा तोलाङ्गे, वडा नम्वर १० का श्याम मिजार, वडा नम्वर ११ का दुर्गामाया तामाङ र वडा नम्वर १२ का रीता मिजारलाई सम्मान गरिएको हो ।
नगर प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले उनीहरुलाई सम्मान गर्दै श्रम र श्रमिकको सम्मानले मात्रै राष्ट्र निर्माणमा योगदान पुग्ने तर्क गरेका थिए ।
रोजगार केन्द्र संयोजक सम्झना शर्मा नेपालका अनुसार, धुलिखेलमा विभिन्न वडाबाट २ सय ४५ जना श्रमिकहरु सुचिकृत भएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत १ सय दिने रोजगारी उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले जानकारी दिए ।
रोजगार विज्ञ विद्यासागर पाण्डेले श्रमको महत्व, श्रमको सम्मान तथा श्रमका बारेमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा उपप्रमुख निराजन जंगम, वडा अध्यक्षहरु उत्तमप्रसाद तिमल्सिना, बद्रिप्रसाद हुमागाई, नारायण बडाल, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने लगायत सरोकारवालाहरुको उपस्थिती थियो ।
प्रतिक्रिया दिनुहोस