सूर्यविनायकमा कांग्रेसको डिजिटल अभियान शुरु

नौलो समाचार संवाददाता
२०८३ कार्तिक ३०, आईतबार मा प्रकाशित १४७ पटक पढिएको

सूर्यविनायकमा कांग्रेसको डिजिटल अभियान शुरु

भक्तपुर । नेपाली कांग्रेसको संगठनलाई प्रविधिमैत्री बनाउने डिजिटल अभियान भक्तपुरको सूर्यविनायक नगरपालिकामा सुरु भएको छ । ललितपुरको गोदावरी र महालक्ष्मी नगरपालिकामा भोलिबाट अभियान सुरु हुनेछ ।

केन्द्रीय सदस्य तीर्थ लामालाई ती स्थानीय तहमा जिम्मेवारी तोकिएको छ ।

पार्टीले केन्द्रीय सदस्यहरूलाई विभिन्न पालिकाको जिम्मेवारी दिएर संगठन सुदृढीकरण तथा डिजिटल विस्तारको नीति अघि सारेको छ।

अभियानका क्रममा पार्टीको योजनाअनुसार प्रत्येक वडामा ‘डिजिटल प्रतिनिधि’ चयन गर्ने प्रक्रिया अघि बढाइएको छ। छनोट भएका डिजिटल प्रतिनिधिमार्फत वडा तहमा सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्दै पार्टीका गतिविधि, सूचना र सन्देश आम कार्यकर्ता तथा शुभचिन्तकसम्म पुर्‍याउने लक्ष्य राखिएको छ।

यसैगरी, पार्टीका क्रियाशील सदस्य, समर्थक र शुभचिन्तकहरूलाई समेटेर पालिकास्तरीय आधिकारिक ह्वाट्सएप समूह निर्माण गर्ने योजना पनि अघि सारिएको छ। केन्द्रीय तथा माथिल्ला निकायबाट आउने निर्णय, निर्देशन र कार्यक्रमहरूलाई स्थानीय तहसम्म छिटो र व्यवस्थित रूपमा प्रवाह गर्न यस माध्यमले सघाउ पुर्‍याउने पार्टीको अपेक्षा छ।

सोही नीति कार्यान्वयनका क्रममा लामाले तीनवटै नगरपालिकाका नगर सभापति तथा वडा सभापतिहरूसँग प्रत्यक्ष भेटघाट र समन्वय गरी अभियानको उद्देश्यबारे जानकारी गराउनेछन्।

पार्टी संगठनलाई डिजिटल प्रविधिसँग जोडेर सूचना सम्प्रेषण र संगठनात्मक समन्वयलाई प्रभावकारी बनाउने कांग्रेसको पछिल्लो नीतिअन्तर्गत तीन पालिकामा सञ्चालित यो अभियानले नेतृत्व र कार्यकर्ताबीचको सम्पर्कलाई थप सहज बनाउने केन्द्रीय सदस्य लामाले विश्वास व्यक्त गरे ।






प्रतिक्रिया दिनुहोस


↑