साइबर अपराधमा मुछिएका पूर्व सचिव उपाध्याय २५ हजार धरौटीमा रिहा

नौलो समाचार संवाददाता
२०७७ बैशाख १५, सोमबार मा प्रकाशित ८३८ पटक पढिएको
साइबर अपराधमा मुछिएका पूर्व सचिव उपाध्याय २५ हजार धरौटीमा रिहा

बैशाख १५, काठमाडौँ । काठमाडौं जिल्ला अदालतले साइबर अपराध गरेको आरोप लागेका पूर्व सचिव भीम उपाध्यायलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ।

प्रहरीको केन्द्रीय साइबर ब्युरोले पाँच दिन अघि उपाध्यायलाई ललितपुरको कुसुन्तीस्थित निवासबाट पक्राउ गरेको थियो। प्रहरीले उनलाई पक्राउ गरेको तीन दिनमै सरकारी वकिलमार्फत अदालतमा अभियोगपत्र दर्ता गरेको थियो।

सामाजिक सन्जालमार्फत उनले धार्मिक आस्थामा आघात पुर्‍याएको आरोप प्रहरीले लगाएको थियो। सामाजिक सन्जालमा सरकारविरुद्ध पछिल्लो समय निकै आक्रामक देखिएका उपाध्याय र स्वास्थ्य सचिव यादब कोइरालाबीच केही समय अघि ट्वीटरमा आरोप प्रत्यारोपको दोहोरी नै चलेको थियो।

काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले उपाध्यायविरुद्ध पाँच वर्ष कैद सजायको मागदावीसहित अभियोगपत्र दर्ता गरेको थियो। सामाजिक सन्जालमा सरकारविरुद्ध विषय लेखिएको आरोपमा उपाध्यायलाई पक्राउ गरिएको भन्दै साइबर अपराधको नाममा वाक् तथा अभिव्यक्ति स्वतन्त्रताको धज्जी उडाएको भन्दै सरकारको लगातार आलोचना भएको थियो।


प्रतिक्रिया दिनुहोस