शुक्रवार बनेपामा बृहत शैक्षिक परामर्श मेला

नौलो समाचार संवाददाता
२०८२ श्रावण २९, बिहिबार मा प्रकाशित ३११ पटक पढिएको

शुक्रवार बनेपामा बृहत शैक्षिक परामर्श मेला

बनेपा /  काभ्रेपलाञ्चोक जिल्लामा नै पहिलो पटक आयोजना गरिएको वृहत बहुउदेश्यीय शैक्षिक मेला शुक्रवार बनेपामा हुँदैछ ।

शैक्षिक परामर्श संघ नेपाल (इक्यान) काभ्रेपलाञ्चोक शाखाको आयोजनामा गरिएको मेलामा १० देशका विभिन्न विश्वविद्यालयका प्रतिनिधिसहित काभ्रे र आसपासका २० शैक्षिक परामर्श सेवा प्रदायकहरूसंग करिब २ हजार विद्यार्थी र अभिभावकले प्रत्यक्ष संवाद गर्ने आयोजक संस्थाका अध्यक्ष भुवन रायमाझीले जानकारी दिए । उनका अनुसार, विद्यार्थीहरुले अष्ट्रेलिया, युके, क्यानडा, न्युजिल्यान्ड, जापान, दक्षिण कोरिया, फिनल्यान्ड, अस्ट्रिया, नेदरल्यान्ड, साइप्रस लगायतका प्रमुख अध्ययन गन्तव्य मुलुकका विश्वविद्यालय तथा कलेजका अधिकृत प्रतिनिधिहरू देशका विश्वविद्यालय तथा कलेजका अधिकृत प्रतिनिधिहरूसँग भेटघाट गरी भर्ना प्रक्रिया, छात्रवृत्ति, पाठ्यक्रम संरचना, भाषा तयारी, र अध्ययनपश्चात रोजगारी सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्नेछन् ।

उच्च शिक्षा अध्ययनको लागि विदेश जाने क्रम बढेपनि ती विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूलाई उचित र प्रमाणित जानकारी पाउन समस्या भइरहँदा गलत सल्लाह, नक्कली परामर्शदाता, र भ्रमित गर्ने सूचना कारण विद्यार्थीहरू आर्थिक र मानसिक रूपमा हानि बेहोर्न बाध्य भएकोले मेला आयोजना गरिएको उनले जानकारी दिए । मेलाले विद्यार्थीलाई आफ्ना रुचि, क्षमता, र आर्थिक अवस्थालाई ध्यानमा राखेर उपयुक्त विकल्प छनोट गर्न सक्षम बनाउनुका साथै प्रश्नहरू सोध्ने, शंका समाधान गर्ने र आफ्नो अध्ययन र भविष्यतर्फ स्पष्ट मार्गदर्शन प्राप्त गराउने आयोजकले जनाएका छन् । संगै ‘स्टडी इन नेपाल’ अभियानलाई पनि संगै अघि बढाउने लक्ष्य रहेको अध्यक्ष रायमाझीले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले उच्च शिक्षाको लागि विदेशिने क्रम रोक्न नसकेपनि उचित परामर्श दिएर भविष्य सुरक्षित बनाउन लाग्नुपर्ने बताए ।

शैक्षिक परामर्श संघ काभ्रेपलाञ्चोकका उपाध्यक्ष शर्मिला तिमल्सिना, सचिव बालकृष्ण न्यौपाने, कोषाध्यक्ष अशोक तिमल्सिना लगायतल मेलाको विभिन्न तयारीबारे जानकारी गराएका थिए ।

 

प्रतिक्रिया दिनुहोस