बनेपा / बनेपामा नरदेवी श्री श्वेतकाली (ङतभुलु अजिमा) को नाच हुने भएको छ ।
प्रत्येक १२ बर्षमा हुँदै आएको नाच बनेपाको लायकु डबलीमा कार्तिक २० देखि २२ गतेसम्म सञ्चालन हुने जात्रा व्यवस्थापन समितिका संयोजक एवं बनेपा नगरपालिका वडा नं ८ का अध्यक्ष शुभलक्ष्मी मानन्धरले जानकारी दिइन् ।
परम्परागत नाचगुठीको नेतृत्वमा सम्बन्धित गुठीयारलगायत परम्परागत ङत त्वाः समाजका सदस्यहरुको सक्रिय सहभागितामा श्री श्वेतकाली देवीको नाच हुने मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिइयो ।
१२ बर्षमा एकपटक काठमाडौंको नरदेवी, हनुमानढोका दरबारको तलेजु भवानी, नासल चोक, कुमारी घर, इन्द्रचोक र कालभैरव पछाडीको डबली, ललितपुर, किर्तिपुर, भक्तपुर र बनेपाको लायकु डबलीमा यो नाच हुने गरेको छ ।
समितिका संयोजक मानन्धरका अनुसार, कार्तिक २० गते भक्तपुरबाट देवीको विधिवत प्रस्थान गराइ दिउँसो २ बजे बनेपाको लायकु गणेशस्थानमा ल्याइनेछ । साँस्कृतिक बाजागाजासहित मंगलयात्रा गरेर देवीलाई लायकु डबलीमा प्रवेश गराउने र मध्यरातसम्म नाच गराउने तालिका छ । कार्तिक २१ गते करुणामयको नाचसँगै दोस्रो चरणको देवी नाच आरम्भ हुनेछ । सो दिन साँझसम्म देवीका सबै नाच पूरा हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
परापूर्वकालदेखि संचालन हुँदै आएको देशकै धार्मिक र साँस्कृतिक गौरव बोकेको श्री श्वेतकाली १२ वर्षे देवी नाच पर्वलाई बचाइराख्न र यसलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य रहेको बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले बताए । जात्राको आफ्नै मौलिक पहिचान र किंवदन्ती रहेको भन्दै उनले अबलोकन गर्न सबैलाई अनुरोध गरे ।
प्रतिक्रिया दिनुहोस