पृष्ठभूमि
नेपालको वर्तमान प्रशासनिक संरचनाअनुसार ७५३ स्थानीय तहमध्ये बागमती प्रदेश काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका पनि एक हो । पनौती नगरपालिका वडा नं ७ मा रहेको पौराणिक र ऐतिहासिक पनौती सहर पुरातात्विक सम्पदा र मठमन्दिरले सम्पन्न मानिन्छ । पनौतीलाई विं.सं १८२० कार्तिक ११ गते राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले एकीकरण गरी नेपाल राज्यमा गाभेको तथ्य इतिहासमा उल्लेख भएको पाइन्छ । पौराणिक कालमा पाँचपाण्डवहरुले बसोवास गरेको पनौती सहरमा लिच्छिवीकालीन राजा मानदेव, शाहकालीन राजा पृथ्वीनारायण शाहले भ्रमण गरेको तथ्य इतिहासमा लेखिएको पाइन्छ । राजा आनन्ददेवले आशपासका ससाना गाउँहरुलाई जोडेर पनौती निर्माण गरेको तथ्य देवमाला वंशावलीमा उल्लेख छ । हाल रोशी खोला र पुण्यमाता खोलाको दोभानमा रहेको पनौती प्राचीन कलाकौशल, जात्रापर्व र मठमान्दिरले सुसज्जित पावन क्षेत्र हो । हाल पनौती सहर नेपालको राजधानी काठमाडौंबाट दक्षिणपूर्व ३२ कि.मि को दूरीमा पर्दछ ।
पनौती नगरपालिकाका १२ ओटा वडा मध्ये कलाँती भूमिडाँडा पनि एक हो । नेपालको संविधान २०७२ जारी भएपछि २०७३ फागुन २७ गते तत्कालीन कलाँती भूमिडाँडा गा.वि.स. लाई पनौती नगरपालिकामा गाभियो र १२ नं वडा कायम गरियो । हाल कलाँती भूमिडाँडा पनौती नगरपालिकाको १२ नं वडामा पर्दछ । यस वडामा जम्मा ६ हजार जनसङ्ख्या रहेको छ भने करिव ९ सय घरधुरी रहेको छ । यहाँको समग्र जनसङ्ख्यामध्ये खस आर्य ५२ प्रतिशत, जनजाति ४२ प्रतिशत र दलित ६ प्रतिशत रहेका छन् । औपचारिक शिक्षाका लागि यस वडामा बालप्रकाश मा.वि भालेश्वर रोशी बजार र इन्द्रादेवी आधारभूत विद्यालय कलाँती रहेका छन् । यस वडामा हाल कुनै पनि नीजि विद्यालय अस्तित्वमा छैनन् ।
भौगोलिक अवस्था
वागमती प्रदेश, काभ्रेपलाञ्चोक जिल्ला, पनौती नगरपालिका वडा नं १२ महाभारत पर्वत शृङ्खलाको पीठमा रहेको कलाँती भूमिडाँडाको आफ्नै खालको भौगोलिक विशिष्टता छ । देशको राजधानी काठमाडौंदेखि करिव ३५ कि.मि को दूरीमा भएर पनि भूसंरचनाका दृष्टिले विशिष्ट किसिमको छ । समुद्र सतहबाट करिव १३०० देखि १५०० मिटरको उचाइमा अवस्थित कलाँती भूमिडाँडामा समशीतोष्ण हावापानी पाइन्छ । यसले पूर्वी सीमाना पनौती न.पा वडा नं ८ मल्पी, उत्तरपश्चिममा पनौती न.पा वडा नं २ र दक्षिणमा बेथानचोक गाउँपालिकसँग मितेरी सम्वन्ध गाँसेर जीवन्त बनेको छ । मन आत्तिने पहाड, आङै सिरिङ्ग हुने भीर र आँखा लोभ्याउने जङ्गलको सङ्गम रहेको कलाँती भूमिडाँडा प्रकृति प्रदत्त भूगोलमा अविश्रान्त अडिएको छ र निरन्तर ठडिएको छ । वास्तवमा कलाँती भूमिडाँडा अग्ला पहाड, भिरालो अनि सेपिलो खोरिया बारी र भीरपाखामा सीमित छ अनि जिङ्रिङ्ग उभिएका कडा चट्टानी पहाडले सुशोभित छ ।
जल,जमिन र जङ्गल
जल, जमिन र जङ्गलका दृष्टिले कलाँती भूमिडाँडाको पृथक विशिष्टता छ । जमिनका हिसाबले हेर्दा प्रकृतिले ठगेको आभाष हुन्छ । यहाँ खेतीयोग्य उर्वर जमिन अत्यन्त न्यून मात्रामा रहेको छ । नदी किनारमा केही समथर जमिन भए पनि अधिकांश भाग भिरालो, सेपिलो, खोरिया सुर्काबारी रहेको छ । यहाँको अधिकांश क्षेत्रफल उत्तरी मोहडातर्फ फर्केको छ । उत्पादनका दृष्टिले यो मोहडा त्यति उपयुक्त देखिँदैन । अग्ला डाँडाका छातीमा चिरिएका खोरिया बारीका सुर्का देखेर पहिलोपल्ट यहाँ आइपुग्ने मान्छेले कलाँती भूमिडाँडालाई पनौतीको कर्णाली ठान्दो होला । गागल, मूलखोला, सिमपानी, कलाँती, घिसिङ गाउँ, मगर गाउँ, गुरुङ गाउँ, बादल पाखा, बाउन चौर, डाँडागाउँ, गोठखोल, पचारे, खारखोला, धोवीखोला, चिण्डु, छाप, रोशी बजार यहाँका मुख्य मानववस्ती रहेका स्थान हुन् । यी बस्तीहरुमा करिब ८ सय घरधुरी रहेका छन् भने ५ हजार ८ सय जनसङ्ख्या रहेको छ । महाभारत पर्वत शृङ्खलाको हरियो जङ्गलको पृष्ठभूमिमा रहेको कलाँती भूमिडाँडामा यथेष्ठ वनजङ्गल रहेको छ । कृषि वन अति कम छ तथापि महाभारतको वन, निजी वन र सामुदायिक बनको हरियालीले यहाँको सौन्दर्य बढाएको छ । कटुस, बाँझ, उत्तीस, गुराँस,सल्लो, चिलाउने, पैयौं आदि यहाँका वनमा पाइने विशेष परम्परागत वनस्पति हुन् । हालसाल भने कतिपय मानिसहरु कृषि वन र फलपूmलखेतितिर आकर्षित हुन थालेको देखिन्छ । जल, जमिन र जङ्गलमध्ये जमिनमा ठगिएको कलाँती भूमिडाँडा जल र जङ्गलमा धनी छ । मूलखोला, कलाँती खोला, रोशी खोला, खारखोला, धोवीखोला भण्डार खोला यहाँका नाम चलेका खोला हुन् । रोशी खोला, खारखोला, कलाँती खोला, यहाँका ठूला र स्थायी खोला हुन् भने अन्य खोला हिँउदमा सानो रुपमा बहन्छन् । कलाँती खोेला र रोशी खोलाले चिरेर यहाँको भूखण्डलाई तीन भागमा विभक्त गरेको छ । अन्य कुला र खोल्साअरु प्रशस्तै छन् तथापि पानीको मुहानभन्दा माथि उचाइमा बस्ती रहेकाले यहाँ खानेपानीको समस्या टडकारो छ । रोशी खोला र खारखोलाको पानी पिउने प्रयोजनका लागि जिल्ला सदरमुकाम धुलिखेलसम्म लगिएको छ । सन् १९८९ मा जर्मन सहयोगमा स्थापित धुलिखेल खानेपानी आयोजना सामुदायिक व्यवस्थापनको एक उत्कृष्ट नमुनाका रुपमा परिचित छ । यसको सञ्चालन धुलिखेत खानेपानी उपभोक्ता समितिले गर्दै आएको छ । करिव ५ लाख लिटर को भण्डारण क्षमता रहेको यो आयोजनाले ४००० भन्दा धेरै घरपरिवारलाई खानेपानी उपलब्ध गराउँदै आएको देखिन्छ । नेपालकै तेस्रो पनौती जलविद्युत् उत्पादन गृहमा रोशी खोलाको पानी उपयोग गरिएको छ ।

आयआर्जन र उत्पादन
उपयुक्त खेतीयोग्य जमिनको अभावमा यहाँका मानिसहरु निर्बाहमुखी उत्पादन र आम्दानीमा सीमित रहेका छन् । धान,मकै,गहुँ, आलु यहाँका मुख्य खाद्य बाली हुन् । मौसमी र बेमौसमी तरकारी खेती पनि सामान्य रुपमा गर्ने गरिएको छ । अलैंची सुन्तला कागती यस क्षेत्रका मुख्य फलपूmल हुन् भने पशुपालन र दुग्ध व्यवसायबाट यहाँका मानिस जीवन निर्वाह गर्दछन् । गाई, भैंसी, कुखुरा, बङ्गुर, बाख्रापालन यहाँका मानिसको जीवन निर्वाहको मुख्य माध्यम हो । यहाँका युवाहरु नोकरी, व्यापार र वैदेशिक रोजगारीमा संलग्न भएको पाइन्छ । यतिमात्र नभई यहाँका ढुङ्गा, रोडा, ग्रावेल काभ्रे लगायत उपत्यकाको विकास निर्माणमा निर्यात गर्ने गरिएको छ । खानी र पानीमा यो वडा सम्पन्न मानिन्छ तर त्यसलाई स्थानीय नागरिकको जीवनस्तरसँग जोडन सकेको देखिँदैन । यस क्षेत्रमा अन्य किसिमका घरेलु तथा मझौला उद्योग सञ्चालनमा रहेको पाइँदैन । ढुङ्ग रोडा उद्योग त नदी किनारमा छन् तर तिनले स्थानीय बासिन्दा लाभान्वित छैनन् । यहाँ कुटानी पिसानीका लागि पानी घट्ट थिए तर तिनलाई २०८१ असोजको बाढीले बगाई सकेको अवस्था छ । समग्रमा कृषि र पशुपालनबाट हुने आम्दानी र उत्पादन नै यहाँको मुख्य आयस्रोत रहेको देखिन्छ ।
धर्म र धार्मिक स्थल
कलाँती मूमिडाँडामा मुख्य रुपमा हिन्दु बौद्ध र क्रिस्चियन धर्म मान्ने धार्मिक सम्प्रदायका मानिसहरुको बाहुल्यता रहेको छ । २०७८ को जनगणनाअनुसार हिन्दु धर्म मान्ने मानिसहरु ४७ प्रतिशत, बुद्ध धर्म मान्नेहरु ५१ प्रतिशत र क्रिस्चियन धर्म मान्नेहरुको सङ्ख्या २ प्रतिशत रहेको छ । दसैं, तिहार,बुद्ध पूर्णिमा, ल्होछार, क्रिस्मस आआफ्नो धार्मिक सम्प्रदाय अनुसार यहाँका मानिसहरुले मनाउने चाडपर्व हुन् । यहाँ विभिन्न हिन्दु मन्दिरहरु लगायत, बौद्ध धर्मावलम्वीहरुका पाल्मेथान गुम्वा भूमिडाँडा, टासिभ्झयाम्लिङ गुम्वा गागल, भ्झयाङ्झुप छोप्तेन गुम्वा सीमपानी, पाल्मेथान गुम्वा भ्ुमेडाँडा आदि घ्याङ र गुम्वा तथा क्रिस्चियन धर्मावलम्वीहरुको चर्चसमेत रहेको छ । यहाँका मानिसहरु धार्मिक सहिष्णुतामा विश्वास गर्छन् र एक अर्काका धर्मलाई सम्मान गर्दछन् ।
कलाँती भूमिडाँडा धार्मिक हिसाबले ऐतिहासिक र पौराणिक महत्व बोकेको क्षेत्र हो । यहाँ अवस्थित रोशी खोलाको शिरमा वैरा महादेव र पुछारमा भालेश्वर महादेवले यस क्षेत्रको देखभाल गरेको छ । यहाँ सुखसरावती, रोस्मती र लिलावती नदीको त्रिवेणी सङ्गममा गन्दर्भघाट रहेको छ जहाँ सुमुख नाम गरेको गन्दर्भले तपस्या गरेको चर्चा हिमवत्खण्डमा उल्लेख गरिएको छ । यही गन्दर्भघाट नजिक रहेको निकुञ्ज पर्वतमा भालेश्वर महादेवको मन्दिर रहेको छ । भालेश्वर मन्दिरमा रहेको शिवलिङ्गबाट महादेव उत्पत्ति भई सोही स्थानमा अन्तर्धान हुनुभएको र उक्त स्थानमा सतीदेवीको निधार (भाल) पतन भएकोले भालेश्वर नाम रहन गएको पौराणिक तथ्य हिमवत खण्डको अध्याय ९९ मा उल्लेख भएको छ । आज पनि हरेक दिन भक्तजनहरु भालेश्वर दर्शनमा जाने गर्छन् भने शिवरात्रि, बालाचतुर्दशी, तीज जस्ता पर्वमा शिवभक्तहरुको उल्लेख्य भीड देख्न पाइन्छ ।
कलाँती भूमिडाँडामा विभिन्न पाँच देवी मन्दिरहरु रहेका छन् । पञ्चकन्या देवी खारखोला, इन्द्रादेवी सीमपानी, सेतीदेवी बादलपाखा, कालीदेवी गागल, स्याक्पालदेवी चिसापानी स्याक्पालडाँडा जस्ता देवी मन्दिरले यस क्षेत्रलाई पावन बनाएका छन् । यहाँका देवी मन्दिरहरुमध्ये गागलमा रहेको कालीदेवी मन्दिर ठूलो रुखको फेदमा पहरामा रहेको छ । मन्दिरमा २००७ साल उल्लेख भएको घण्टी देख्न सकिन्छ । यस मन्दिरमा सबै जात र धर्मका मानिसहरु दर्शनार्थ पुग्ने गर्दछन् । यहाँ एकादशी, पूर्णिमा, कृष्णजन्माष्टमीमा विशेष पूजाआज हुने गर्दछ । गागलमा रहेका निमाटासिभ्mयमलिङ गुम्वा र कालीदेवी मन्दिरले जिर्णोद्वार र संरक्षण पर्खेर बसेको देखिन्छ ।
यसैगरि यहाँको अर्को देवी मन्दिरमा स्याक्पाल डाँडामा रहेको स्याक्पालदेवी मन्दिर जुनचाहिँ चुनखानी सामुदायिक वनभित्र मगरगाउँको छेउमा रहेको छ । मगरगाउँको पश्चिमपट्टि कालापानी भन्ने ठाउँ छ । त्यहाँ काली नागको स्थान रहेको छ । त्यहाँ सानो गुफा पनि रहेको छ । वि.सं १९६५ अघिसम्म मगर जाति बसोबास गर्ने गरेको मगरगाउँमा हाल मगर भेटिँदैनन् । यस स्थानमा अचेल तामाङ जातिको बसोबास रहेको छ । किंवदन्ती अनुसार प्राचीन समयमा मगरजातिको सांस्कृतिक पर्वहरु विवाह व्रतवन्ध जस्ता कार्य सञ्चालन गर्नका लागि देवीले भाँडाकुँडा दिने गर्थिन् । पछि भाँडा माभ्mदा जुठो ननिखारेका कारण देवी रिसाएर भाँडा दिन छाडिन् । यस्तै मगरजातिले आफू बसोबास गरेको स्थानमा जीविकोपार्जनका लागि सुँगुर पाल्ने गरेका थिए । उनीहरुले सुँगुर पाल्न थालेपछि स्याक्पालदेवी रिसाएर मगरहरु विरामी पर्न थालेपछि त्यहाँबाट मगरजाति विस्थापित भएको कुरा स्थानीयहरु सुनाउँछन् ।
कलाँती भूमिडाँडामा रहेको अर्को देवीमन्दिर बादलपाखामा रहेको सेतीदेवी मन्दिर हो । यस मन्दिरमा हरेक दिन स्थानीय बासिन्दाले पूजाआजा गर्दछन् । ठूलो चिलाउनेको रुखलाई भित्र पारेर त्यसको फेदमा मन्दिर निर्माण गरिएको छ । परम्परागत रुपमा दैनिक पूजाआजा गरिँदै आएको भएता पनि विशेषगरि यहाँ फागु पूर्णिमाको दिन विशेष मेला लाग्ने गर्दछ । यहाँ आप्mनो भाकल पूरा गर्न अघिल्लो दिन राति मादी बालेर पूर्णिमाका दिन पाठी, कुखुराको पोथी, अण्डाको भोग र बली दिने चलन रहेको छ । यस मन्दिरमा सबै जात र धर्मका मानिसहरु दर्शनार्थ आउने गरेको कुरा स्थानीय बासिन्दा बताउने गर्दछन् ।
यहाँको अर्को विशेष देवी मन्दिर सीमपानी डाँडाको थुम्कोमा रहेको इन्द्रादेवी मन्दिर हो । यो मन्दिर डाँडाको थुम्कोमा हरियाली जङ्गलभित्र रहेको छ । यस मन्दिरमा हरेक दिन भक्तजनहरु दर्शनार्थ जाने गर्दछन् । यस मन्दिरमा बौद्धमार्गी, हिन्दु धर्मावलम्वीहरुले विशेषरुपमा पूजाआजा गर्दछन् । हरेक बिहान मानिसहरु भक्ति र आश्थाका साथ यस मन्दिरमा पुग्न उकालो उक्लिरहेका देखिन्छन् । यस मन्दिरको वरिपरि फुल्चोकी कालीदेवी मन्दिर पनि रहेका छन् । यस मन्दिरमा विशेष गरी बुद्धजयन्तीका दिन मेला लाग्ने गर्दछ । बुद्धपूर्णिमाको रात बौद्धधर्मावलम्बी भक्तजनहरुले रातभर जाग्राम बसी मादी बाल्छन् । भोलिपल्ट मादी विर्सजन पश्चात देवीलाई पाठी बली दिने परम्परा रहेको छ । हिन्दु धर्मसम्प्रदायका भक्तजनहरुले भने पूर्णिमा पछिको पञ्चमी तिथिका दिन विशेष पूजाआजा गर्दछन् । यहाँ इन्द्रादेवीलाई अद्भूत शक्तिशाली देवीका रुपमा पुज्ने गरिन्छ । यहाँका मानिसहरु सिङ्गो कलाँती भूमिडाँडालाई इन्द्रादेवीले रक्षा गरेर राखेको विश्वास गर्दछन् । गहिरो भावना र भक्तिका साथ इन्द्रादेवीको पूजाअर्चना गर्दा मनोकाङ्क्षा पूरा हुने धारणा स्थानीय समाजसेवी क्षेत्रबहादुर तामाङले बताउनु भयो ।
कलाँती भूमिडाँडाको अर्को महत्वपूर्ण देवी पञ्चकन्या देवी हो । यो खारखोलाको मुहान नजिकै रहेको छ । यो मन्दिर तीन कन्या र सप्तकन्याको विचमा पर्दछ । हाल यो मन्दिर पञ्चकन्या ट्राउट फार्मभित्र रहेको छ । पहिले यस मन्दिरमा जग्गाधनीहरुले मात्र पूजाआज गर्ने गरेकोमा अहिले पञ्चकन्या ट्राउट फार्म र पञ्चकन्या झरना हेर्न जाने जो कोही व्यक्ति पहिला पञ्चकन्या देवीको दर्शन् गर्छन् । यस मन्दिरको पश्चिम पट्टी पञ्चकन्या झरना रहेको छ जुन वर्षाको समयमा आकर्षक देखिन्छ । पञ्चकन्या र सप्तकन्या नजिक नागस्थल पनि रहेको हुनाले त्यहीँबाट खारखोलाको उत्पत्ति भएको देखिन्छ । पञ्चकन्याको शिरमा कालापानी पहाड रहेको र त्यहाँ स्याक्पालदेवी मन्दिर र गुफा रहेको छ । समग्रमा पाँचदेवीको कृपामा कलाँती भूमिडाँडा जीवन्त बनेको छ ।

पर्यटन र पर्यटक स्थल :
कलाँती भूमिडाँडा प्रकृतिले हतारमा सिर्जना गरेको भूगोल जस्तो लाग्छ । भूगोलमा प्रकृतिले समथर जमिन नदिए पनि उत्तरतर्फका हिमशृङ्खला अवलोकन गर्न सकिने गगनचुम्वी पहाड दिएको छ । यहाँका कुनै न कुनै डाँडाबाट कञ्चनजङ्घा हिमशृङ्खलादेखि पश्चिममा अन्नपूर्ण धवलागिरिसम्मका हिमशृङ्खलाहरु देख्न सकिन्छ । यहाँको गन्दर्भघाट नजिक निकुञ्ज पर्वतमा रहेको भालेश्वर महादेवको दर्शन गरेर कलाँती भूमिडाँडाको शिरमा रहेको वैरा महादेवको पूजा गरी ललितपुरको फुल्चोकी परिक्रमा गरेर उपत्यका पुग्न सकिन्छ । यहाँको कालीदेवी मन्दिर गागल, सेतीदेवी मन्दिर बादलपाखा, इन्द्रादेवी मन्दिर सीमपानी र कालापानीमा रहेको स्याक्पालदेवी र खारखोलाको तीन कन्या, पञ्चकन्या र सप्तकन्यादेवीको दर्शन गरेर पञ्चकन्या ट्राउट फार्मसँग जोडिएको पञ्चकन्य झरना अवलोकनपछि कलाँती भूमिडाँडा र कुशादेवीको सीमानामा रहेको आदित्य धाम दर्शन अवलोकन गरेर कुशादेवी रयाले लाँकुर्ीभञ्ज्याङ हुँदै उपत्यका पुग्न सकिन्छ । यसो हुँदा आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न सकिन्छ । कलाँती भूमिडाँडाको धार्मिक तथा प्राकृतिक दृश्यावलोकनका लागि आन्तरिक र वाह्य पर्यटनलाई जोड्न सके कलाँती भूमिडाँडाको जीवनस्तरमा सुधार ल्याउन सकिन्छ ।
निष्कर्ष
पनौती नगरपालिकाको वडा नं १२ कलाँती भूमिडाँडा भौगोलिक रुपमा विकट र ग्रामीण वडा हो । जमिन र खाद्य उत्पादनका दृष्टिले कमजोर वडा भएर पनि खानी र पानीमा यो वडा धनी छ । सम्भवतः पनौती नगरपालिकाको आम्दानीमा यस वडाको योगदान अग्रणी रहेको छ । नगरपालिका र वडा सरकारले बजेट व्यवस्थापन गरी स्याक्पालदेवी र इन्द्रादेवी मन्दिरसम्म पुग्न सिँढी निर्माण गरी छोटो पदमार्ग निर्माण गर्नु आवश्यक देखिन्छ भने कलाँती भूमिडाँडामा रहेका निमाटासी झ्यामलिङ गुम्वा गागल, पाल्मेथान गुम्वा भूमिडाँडा र सीमपानीको झ्याङझुप छोप्तेन गुम्वा जिर्णोद्वारको पर्खाइमा छन् । यिनको प्रचार सहज पहुँच बनाउन सके आन्तरिक पर्यटनमा बढोत्तरी ल्याउन सकिन्छ । अतः कलाँती भूमिडाँडाको प्राकृतिक सौन्दर्य दृश्यावलोकन र धार्मिक पर्यटनका लागि पनौती नगरपालिका र वडा सरकारले ढिलो नगरी गुरुयोजना बनाई आवश्यक कदम चाल्नु आवश्यक देखिन्छ ।
प्रतिक्रिया दिनुहोस