काभ्रेको पनौतीमा अनिश्चिकालिन कर्फ्यु, आजको वार्षिक परिक्षा पनि स्थगित

नौलो समाचार संवाददाता
२०७६ चैत्र ४, मंगलबार मा प्रकाशित ८८९ पटक पढिएको

काभ्रेको पनौतीमा अनिश्चिकालिन कर्फ्यु, आजको वार्षिक परिक्षा पनि स्थगित

चैत ४, काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेले पनौतीमा अनिश्चितकालिन कर्फ्यु जारी गरेको छ । आज (मंगलबार) ९ बजेदेखि अर्को सुचना जारी नहुदाँसम्मका लागि कर्फ्यु जारी गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

अनिश्चितकालिन कर्फ्यु कारण पनौती नगरपालिका क्षेत्रका बिद्यालयमा आजको वार्षिक परिक्षा पनि स्थगित भएको छ । पनौती क्षेत्रका विद्यालयहरु पनि आज ठप्प भएका छन् ।

हिजो (सोमबार) दिउँसो पनौती-५ बसपार्क छेउको पुल नजिकै बा ५ ख ५४८० नम्बरको ट्रिपरको ठक्करबाट खानीखोला गाउँपालिका वडा नम्बर १ स्थित श्री कालिका प्राथमिक विद्यालय हातिडाँडाका प्रधानाध्यापक ३३ बर्षीय जुनिमाया गोले र उनकी ३ बर्षिया छोरी स्मारिकाको निधन भएको थियो ।

घटनापछि स्थानीयले पनौती बसपार्क क्षेत्रमा प्रर्दशन गरेका थिए । प्रर्दशनका क्रममा ६ जना प्रहरी र दुई जना प्रर्दशनकारी घाइते भएका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन १५ राउन्ड हवाइ फाएर र १७ राउन्ड अश्रु ग्यास प्रहार गरेको थियो ।

प्रर्दशनकारीले पनौतिमा रहेको प्रहरी बिट तोडफोड गरेका छन् । घाइते हुनेमा प्रहरीका सई बिरेन्द्र शाह, हवल्दार मिन बहादुर थापा, दिलिप बुढाथोकी र सुनिता घिमिरे, प्रहरी जवान नवराज भारती र ललित थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब निरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

प्रर्दशनकारी तर्फ सञ्जय चौधरी, हर्क बहादुर ग्याबा, जीव राज तामाङ र सरत तामाङ घाइते भएका छन् । घाइते सबै बनेपा स्थित शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस