चीनले भोलि राष्ट्रिय शोक मनाउने, देशभर राष्ट्रिय झन्डा आधा झुकाउने

नौलो समाचार संवाददाता
२०७६ चैत्र २१, शुक्रबार मा प्रकाशित ४२६ पटक पढिएको
चीनले भोलि राष्ट्रिय शोक मनाउने, देशभर राष्ट्रिय झन्डा आधा झुकाउने

चैत २१, बेइजिङ । चीनले नोभेल कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट ज्यान गुमाएकाहरुलाई सम्झिँदै ४ अप्रिलमा राष्ट्रिय शोक मनाउने भएको छ । चीनमा भोलि (शनिबार) देशभर र विश्वभर रहेका चिनियाँ दूतावासमा राष्ट्रिय झण्डा आधा झुकाउने र सार्वजनिक कार्यक्रम स्थगित गरिने चिनियाँ स्टेट काउन्सिलले शुक्रबार जनाएको छ ।

चीनमा शनिबार बिहान १० बजे तीन मिनेट मौन धारण गरिनेसमेत जनाइएको छ । कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएका जनता र देशवासीलाई बचाउन कोरोनासँग संघर्ष गर्दागर्दै मृत्यु भएका सहिद (चिकित्सक) हरुप्रति समवेदना व्यक्त गर्ने जनाइएको छ ।

चीनमा बिहीबारसम्म देशभर तीन हजार ३१८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने ८१ हजार ५८९ जना संक्रमित भएका छन् । शनिबार चिनियाँहरुले पितृप्रति सम्मान गर्दै किङमिङ पर्व मनाउने गरेका छन् ।

चीनले यसअघि सन् २००८ मा दक्षिणपश्‍चिम सिचुआन प्रान्तमा आएको वेनचुआन भूकम्पमा ज्यान गुमाएका ६९ हजार मानिसप्रति समवेदना व्यक्त गर्दै राष्ट्रिय शोक मनाएको थियो ।

कोरोनाका कारण चीनको केन्द्रीय प्रान्तमा १४ जना चिकित्सकको मृत्यु भएको छ । जसमा कोरोना भाइरस पहिचान गर्ने चिकित्सक लि वेनलियाङको पनि मृत्यु भएको थियो । उनीहरुलाई सरकारले बिहीबार सहिद घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस