आन्ध्र प्रदेशको रासायनिक प्लान्टमा ग्यास लिक : ८ को मृत्यु, सयौं बिरामी

नौलो समाचार संवाददाता
२०७७ बैशाख २५, बिहिबार मा प्रकाशित ४५९ पटक पढिएको
आन्ध्र प्रदेशको रासायनिक प्लान्टमा ग्यास लिक : ८ को मृत्यु, सयौं बिरामी

बैशाख २५, एजेन्सी, नयाँदिल्ली । भारतको आन्ध्र प्रदेशको विशाखापटनमको एउटा केमिकल प्लान्टमा ग्यास लिक हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ ।

अाज (बिहीबार) बिहान ग्यास लिक भएपछि आसपासका पाँच गाउँका स्थानीयलाई सुरक्षित स्थानामा सार्ने काम भइरहेको प्रहरीले जनाएको छ । कतिपयले आँखा पोलेको र श्वासप्रश्वासमा समस्या भएको गुनासो गरेका छन् । ग्यास आसपासका कम्तीमा पनि २० गाउँमा फैलिएको बताइएको छ ।

हिन्दुस्तान टाइम्सका अनुसार एक हजारभन्दा बढी बिरामी भएका छन् । उनीहरुलाई अस्पताल लैजाने तयारी भइरहेको छ । प्लान्टबाट ‘स्टाइरिन’ नामक ग्यास लिक भएको बताइएको छ । सरकारले केही उद्योगहरु खोल्न दिने घोषणा गरिएपछि कम्पनीमा काम सुरु भएको थियो । सुरक्षाकर्मी र दमकलले अवस्थालाई नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

एलजी पोलिमर्स इन्डिया प्राइभेट लिमिटेडको प्लान्टमा ग्यास लिक भएको हो । सन् १९६१ मा बनेको यो प्लान्ट हिन्दुस्तान पोलिमर्सबाट सन् १९९७ मा दक्षिण कोरियाली कम्पनी एलजीले अधिग्रहण गरेको बीबीसी हिन्दीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस