पाकिस्तानले आजदेखि लकडाउन खुकुलो बनाउने

नौलो समाचार संवाददाता
२०७७ बैशाख २७, शनिबार मा प्रकाशित ४५९ पटक पढिएको
पाकिस्तानले आजदेखि लकडाउन खुकुलो बनाउने
Pakistani Prime Minister Imran Khan attends a meeting of the Shanghai Cooperation Organisation (SCO) Council of Heads of State in Bishkek on June 14, 2019. (Photo by Alexey DRUZHININ / SPUTNIK / AFP)

बैशाख २७, इस्लामावाद । पाकिस्तानले कोरोनाभाइरसको प्रसार रोक्ने उद्देश्यले जारी देशव्यापी लकडाउनलाई अाज (शनिबार)देखि खुकुलो बनाउँदै लैजाने घोषणा गरेको छ । कोरोना संक्रमितको संख्या निरन्तर बढेपनि आमजनताको दैनिक जीवन थप कष्टप्रद हुँदै गएपछि सरकारले लकडाउनलाई खुकुलो बनाउन लागेको हो ।

प्रधानमन्त्री इमरान खानले बिहीबार लकडाउनलाई खुकुलो बनाउने तयारी गरिएको जानकारी दिँदै लकडाउनबाट आम मजदूर, साना व्यवसायी र सर्वसाधारण जनतालाई बढी नै समस्या परेको बताए ।

पाकिस्तानमा कोरोना संक्रमितको संख्या २५ हजार नाघेको छ भने ५९४ जनाको ज्यान गइसकेको छ ।

प्रधानमन्त्री खानले भने, “हामी विकासशील मुलुक हौं, त्यसैले हामी देशलाई यस्तो लकडाउनमा धेरै दिन राख्न सक्दैनौं । हाम्रो निर्यात घटेको छ । हामीसँग सीमित स्रोत छ र हामीले त्यसलाई जनताको भलाईमा खर्च गरिसकेका छौं । लकडाउनबाट प्रभावित सबैलाई मद्दत गर्न सक्ने अवस्थामा हामी छैनौं ।”

पाकिस्तानमा कोरोनाभाइरसका बिरामी देखिएपछि गत मार्चदेखि लकडाउन जारी छ । बजार, व्यवसाय, सपिङ सेन्टर र कार्यालयहरु बन्द हुँदा मुलुकको अर्थतन्त्रमा नराम्रो असर परेको छ । प्रधानमन्त्री खानले भने, “हाम्रो राजश्वमा ३५ प्रतिशत गिरावट आएको छ भने निर्यातमा पनि ठूलो असर परेको छ ।”

पाकिस्तान सरकारले रमजानको यस महिनामा मस्जिदहरुमा सामूहिक प्रार्थनाका लागि अनुमति पनि दिएको छ । तर सरकारी अधिकारीहरुले आगामी जुलाई १५ सम्म विद्यालयहरु बन्द गर्ने निर्णय गरिसकेका छन् ।

पाकिस्तानी शिक्षा मन्त्री शफकत महमूदले सबै बोर्ड परीक्षाहरु रद्द गरिएका र यसअघिको बोर्ड परीक्षामा विद्यार्थीले प्राप्त गरेको अंकलाई नै आधार मान्ने व्यवस्था गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस