काेराेनाबाट भारतमा एकैदिन ९ हजार ८५१ संक्रमित, २७३ को मृत्यु

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २३, शुक्रबार मा प्रकाशित ४४९ पटक पढिएको
काेराेनाबाट भारतमा एकैदिन ९ हजार ८५१ संक्रमित, २७३ को मृत्यु

जेठ २३, नयाँदिल्ली। भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ। अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ।

अाज (शुक्रबार) सार्वजनिक गरिएको तथ्यांक पनि पछिल्लो २४ घण्टामा संक्रमित भएकाहरुको दैनिक संख्या मध्ये अहिलेसम्मकै सवैभन्दा धेरै भएको अधिकारीहरुले जनाएका छन्। उनीहरुका अनुसार भारतमा पछिल्लो २४ घण्टाको अवधिमा ९ हजार ८५१ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन्। बिहीबार एकै दिनमा भारतमा कोरोना भाइरसका २७३ जना संक्रमित व्यक्तिको मृत्यु भएको छ।

योसँगै देशभरी अहिलेसम्म संक्रमितको संख्या २ लाख २६ हजार ७७० पुगेको अधिकारीहरुले जानकारी दिएका छन्। त्यसैगरी कोरोनाभाइरसबाट संक्रमित भएर भारतमा अहिलेसम्म ६ हजार ३४८ जनाको मृत्यु भइसकेको छ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार देशभरी अहिले पनि १ लाख १० हजार ९६० जना सङ्क्रमित अवस्था मै रहेका छन्। त्यसैगरी १ लाख ९ हजार ४६२ जना संक्रमण मुक्त भएर घर फर्किसकेका स्वास्थ्य अधिकारीहरुले बिहीबार बताएका छन्।

मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म सवैभन्दा धेरै संक्रमितको संख्या महाराष्ट्र राज्यका रहेको छ। महाराष्ट्रमा मात्रै ७७ हजार ७९३ जना सङ्क्रमित भएका छन् । दोस्रो धेरै संक्रमित रहेको तमिलनाडु प्रदेशमा २७ हजार २५६ जना सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ। दिल्लीमा २५ हजार ४ जना संक्रमित रहेका छन्।

भारतमा पछिल्लो समयमा लकडाउनलाई खुकुलो बनाउदै लगिएको र परिक्षणको मात्रा पनि बढाइएकाले संक्रमितहरुको संख्या धेरै देखिदै गएको अधिकारीहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस