अस्ट्रेलियाको भिक्टोरियाका ३६ गाउँमा पुन: लकडाउन

नौलो समाचार संवाददाता
२०७७ अषाढ १६, मंगलबार मा प्रकाशित ५९३ पटक पढिएको
अस्ट्रेलियाको भिक्टोरियाका ३६ गाउँमा पुन: लकडाउन

असार १६, अस्ट्रेलिया । कोरोना भाइरस संक्रमितको संख्या अचानक बढेपछि अस्ट्रेलियाको भिक्टोरिया राज्यका केही क्षेत्रलाई एक महिनाका लागि पुन: लकडाउन गरिएको छ । उक्त राज्यका प्रिमियर ड्यानिल एन्ड्रुजले ३६ गाउँका बासिन्दालाई बुधबारदेखि अत्यावश्यकबाहेक घरबाट निस्कन नपाउने नियम लागू गरेका छन् ।

६ राज्य तथा दुई टेरिटोरी रहेका अस्ट्रेलियामा कोरोना भाइरस संक्रमण करिब नियन्त्रणमा आइसकेको भए पनि केही दिनदेखि भिक्टोरियामा पुन: नयाँ संक्रमण देखिएको हो । उक्त राज्यमा विगत दुई दिनमै १ सय ५० भन्दा बढी नयाँ संक्रमित पाइएपछि नियन्त्रण स्वरुप ३६ गाउँमा पुन: लकडाउन घोषणा गरिएको प्रिमियर एन्ड्रुजले बताएका छन् ।

राज्यका अधिकारीले संक्रमण भित्रिएको स्थानलाई (हट स्पट) का रुपमा पहिचान गरेर नियन्त्रणको प्रयास गरिएको बताएका छन् । स्थानीय समाचार माध्यमका अनुसार प्रिमियर एन्ड्रुजले उक्त राज्यमा व्यवस्था गरिएको होटल क्‍वारेन्टाइनलाई लिएर न्यायिक छानबिनको समेत घोषणा गरेका छन् ।

राज्य सरकारले घोषणा गरेको लकडाउनमा स्थानीयले अत्यन्तै आवश्यकबाहेक अन्य कारणले घर छोड्न पाउने छैनन् । यसपहिले लागू गरिएको ‘स्टेज तीन’ अन्तर्गतकै लकडाउन स्थानीयले सामना गर्नुपर्नेछ । जसअन्तर्गत परिवारबाहेक दुई जनाभन्दा बढी भेला हुन नपाउने, क्याफे तथा रेस्टुरेन्ट टेकअवेमा सीमित हुनुपर्नेछ । लकडाउन घोषणा गरिएको क्षेत्रमा पालना भए/नभएको प्रहरीले जाँच गर्ने स्थानीय समाचारमा जनाइएको छ । एन्ड्रुजले मेलबर्नमा उत्रने अन्तर्रास्ट्रिय उडानलाई समेत अन्य राज्यमा अवतरण गर्न आग्रह गरेका छन् ।

अस्ट्रेलियाका अन्य राज्यले भने लकडाउनलाई खुला गर्दै लगेका छन् । दक्षिण अस्ट्रेलिया, क्युन्सल्यान्ड, न्यु साउथ वेल्स लगायतका राज्यले आन्तरिक हवाई सेवालाई समेत सुचारु गर्ने निर्णय गरिसकेका छन् । तर पनि अधिकांश राज्यले भने भिक्टोरियाको सीमाना तत्काललाई खोल्ने निर्णय गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस