संक्रमित बढेपछि अस्ट्रेलियाको मेलवर्नमा डेढ महिनाका लागि लकडाउन घोषणा

नौलो समाचार संवाददाता
२०७७ अषाढ २४, बुधबार मा प्रकाशित १२२८ पटक पढिएको
संक्रमित बढेपछि अस्ट्रेलियाको मेलवर्नमा डेढ महिनाका लागि लकडाउन घोषणा

असार २४, सिड्नी । अस्ट्रेलियाको मेलबर्नमा डेढ महिनाको लागि तेश्रो तहको लकडाउन घोषणा गरिएको छ । मेलबर्नमा विगत तीन हफ्तादेखि लगातार कोरोना भाइरसको संक्रमण बढ्ने क्रम नरोकिएपछि भिक्टोरिया राज्यका प्रिमियर डेनियल एन्ड्रूजले सो लोकडाउनको घोषणा गरेका हुन् ।

भिक्टोरिया राज्यले गत मङ्गलबार एक दिनमा हालसम्मकै सबैभन्दा बढी १ सय ९१ जना कोरोना संक्रमित थपिएको तथ्याङ्क सार्वजनिक गरेको थियो भने आजै सो राज्यमा १ सय ३४ जना नयाँ संक्रमित थपिएका छन् ।

लकडाउन बुधबार जुलाई ८ तारिखको मध्यरातबाट शुरू हुनेछ । यो लकडाउन घोषणासँगै भिक्टोरिया राज्यमा बस्ने करिब ५० लाख मानिसहरू प्रभावित हुने जनाइएको छ ।

लकडाउनको अवधिमा मेलबर्नबासीहरू केवल खानेकुरा किन्न, आवश्यक परेकाहरूको रेखदेख गर्न, व्यायाम गर्न र स्कुल अथवा काममा मात्र जान र आउन सक्नेछन् । त्यसैगरी रेस्टुरेन्ट र क्याफेहरूले ‘टेक अवे’ अर्थात् किनेर लाने मात्र व्यवस्था गर्न पाउनेछन् ।

न्यूसाउथवेल्स र भिक्टोरिया राज्यका सीमा बन्द

कोरोना संक्रमितको बढ्दो तथ्याङ्कलाई मध्येनजर गर्दै अस्ट्रेलियन सरकारले अस्ट्रेलियाका धेरै जनसङ्ख्या भएका राज्यहरू न्यूसाउथवेल्स र भिक्टोरियाबीचको नाकाहरू बन्द गर्ने घोषणा गरेको छ । बुधबारबाटै लागू गरिने सो बन्दपश्चात् ‘अनुमति–पत्र’ प्राप्त व्यक्तिहरूलाई मात्र सीमा वारपार गर्न दिइने कुरा भिक्टोरिया राज्यका प्रिमियर डेनियल एन्ड्रूजले बताएका छन् ।

अनुमति–पत्रका लागि आवेदन दिँदा झुठो विवरण पेश गरिएको खण्डमा ४ हजार अस्ट्रेलियन डलरसम्म जरिवाना तिर्नुपर्ने प्रावधान छ भने भिक्टोरियाबाट न्यूसाउथवेल्स राज्यमा गैरकानूनी तरिकाले छिर्ने मानिसलाई ११ हजार अस्ट्रेलियन डलर जरिवारना देखि ६ महिनासम्म कैद हुन सक्ने प्रावधान रहेको छ ।

सो नाकाबन्दी प्रधानमन्त्री स्कट मोरिसन र न्यूसाउथवेल्स राज्यकी प्रिमियर ग्लेडिज बेरिजिक्लिन्सँगको सहमतिपछि लागू गरिएको पनि प्रिमियर एन्ड्रूजले उल्लेख गरेका छन् । एक शताब्दीको अन्तरालमा पहिलोपटक यी दुई राज्यबीच नाकाबन्दी गरिएको हो । सीमाहरू कहिले खोल्ने भन्ने बारेमा अधिकारीहरूले कुनै मिति तोकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस