तेन्जिङ नोर्गे शेर्पाको बारेमा फिल्म बनाउँदै पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा

फिल्मको सम्पूर्ण छायांकन सगरमाथा क्षेत्रमा हुने
नौलो समाचार संवाददाता
२०७७ माघ २५, आईतबार मा प्रकाशित ८२३ पटक पढिएको

तेन्जिङ नोर्गे शेर्पाको बारेमा फिल्म बनाउँदै पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा

माघ २५, काठमाडौँ । नेपालमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो नेपाली तेन्जिङ नोर्गे शेर्पाको बारेमा अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामले फिल्म बनाउने भएका छन् । ओबामा दाम्पतीको प्रोडक्सन कम्पनी ‘हाइअर ग्राण्ड प्रोडक्सन’ ले नेटफ्लिक्ससँगको सहकार्यमा फिल्म निर्माण गर्न लागेको हो । जेनिफर पिडमले निर्देशन गर्ने फिल्मको नाम ‘तेन्जिङ’ हुनेछ ।

सन् २००३ मा इद डग्लासले लेखेको पुस्तक ‘तेन्जिङ : हिरो अफ एभरेस्ट’ पुस्तकमा फिल्म आधारित हुने नेटफ्लिक्सले जानकारी दिएको छ । निर्माण भएपछि फिल्म नेटफ्लिक्समा नै सार्वजनिक हुनेछ । तेन्जिङले सगरमाथा चढ्न गरेको संघर्ष, मेहनत र सफलतालाई फिल्मले देखाउनेछ । फिल्मको सम्पूर्ण छायांकन सगरमाथा क्षेत्रमा हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले बताएका छन् ।

तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका आरोही एडमन्ड हिलारीले सन् १९५३ मे २९ मा पहिलो पटक एकसाथ सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । सोलुखुम्बुको थामे भन्ने ठाउँमा १९१४ मे २९ मा जन्मिएका तेन्जिङले ३९ वर्षको उमेरमा सगरमाथाको आरोहण गरेका थिए । उनको मृत्यु भने ९ मे १९८६ मा ७२ वर्षको उमेरमा भारतको दार्जिलिङमा भएको थियो ।

हिमाल आरोहणबाट फर्केपछि तेन्जिङले दार्जिलिङमा हिमालयन माउन्टेनियरिङ इन्स्टिच्युट संस्थाको फिल्ड ट्रेनिङ निर्देशक भएर काम गरेका थिए । यो भूमिका उनलाई भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरुले दिलाएका हुन् । उनकै अगुवाइमा सो संस्थाको स्थापना भएको थियो । त्यसबेला नेहरुले भनेका थिए, ‘तेन्जिङ, अब तिमीले हजार तेन्जिङ जन्माउनुपर्नेछ ।’


प्रतिक्रिया दिनुहोस